तुलसीपुर, कात्तिक ११ । दाङको तुलसीपुरकी एक महिलालाई बलात्कार गरेको जाहेरीपछि सल्यानका एक युवक पक्राउ परेका छन् ।
महिलाको जाहेरीका आधारमा सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहाम निबासी २६ प्रमोद श्रेष्ठ पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरि बुधबार आवश्यक कारबाहीका लागि तुलसीपुरमा पठाएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
महिलाले कात्तिक ७ गते इप्रका तुलसीपुरमा श्रेष्ठ बिरुद्ध किटानी जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गर्न लुहाम प्रहरीको सहयोग मागिएको डिएसपी अर्यालले बताए ।
पीडित महिलाको जाहेरीमा असोज अन्तिममा आफुलाई श्रेष्ठले ललाई फकाई तुलसीपुर १३ दमारगाउँस्थित जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको उल्लेख रहेको प्रहरीले जनाएको छ ।
१९ बर्षीया ती महिला बिबाहित हुन । प्रहरी स्रोतका अनुसार उनका श्रीमान रोजगारीका सिलसिलामा बिदेशमा छन् । घर परिवारले समेत परपुरुष संगको सम्बन्ध बारे जानकारी पाएपछि ती महिलाले श्रेष्ठ बिरुद्ध जबरजस्ती बलात्कार सम्बन्धी मुद्दा दायर गरेको स्रोतले बताएको छ । ती महिलाको माइती घरपनि सल्यान नै रहेको प्रहरीले जनाएको छ ।
