तुलसीपुर, असोज ३१ । दसैंको सयममा तुलसीपुरमा एउटै घरमा बस्ने पाँच परिवारको कोठाबाट चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपेर तुलसीपुर उपमहानगर वडा नम्बर ६ बरुवा गाउँस्थित एउटै घरमा कोठा भाडामा लिएर बस्दै आएका पाँच परिवारको चोरी भएको छ ।
पाँच जनाको कोठाबाट कति चोरी भएको हो ? भन्ने अझैं एकिन भइ नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।
‘दसैं मनाउन सल्यान गएका मध्य अझैं कति जना फर्कि सक्नु भएको छैन,’ डिएसपी अर्यालले भने ‘तर, हामीले उहाँहरुलाई घटनाबारे सूचना दिइ सकेका छौं ।’घरमा कोही नभएको मौका छोपी चोरले चोरी गरेको देखिन आएको डिएसपी अर्यालले जानकारी दिए ।
त्यस्तै घोराहीको एक घरमा पनि चोरी भएको छ । दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दसैंको अवधिमा घोराही उपमहानगर वडा नम्बर १८ को एक घरमा चोरी भएको जानकारी दिए ।
काफ्लेलेले उक्त घरबाट १८ हजार नगद र एकतोला सुनका गरगहना चोरी भएको सूचना प्राप्त भएको जानकारी दिए ।
दसैं मनाउन पुर्खेउली थलो जाँदा सम्बन्धित ब्यक्तिले प्रहरी प्रशासनलाई वा आसपासका छिमेकीहरुलाई समेत कुनै खबर नगरी निस्कने गल्ती गरेको हुँदा त्यसको मौका चोरले छोपेको देखिन आएको एसपी काफ्लेले बताए ।
