
तुलसीपुर,असोज २० । ६६औं प्रहरी दिवसका अबसरमा दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेसहित दर्जन जति प्रहरी अधिकारीहरु सम्मानित भएका छन् ।
दाङका प्रहरी प्रमुख एसपी काफ्लेलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राकृतिक स्रोत साधन दोहन तथा चोरी तस्करीमा रोकथाम उत्कृष्ट कार्य गरेको भन्दै कदर पत्रसहित सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत रही सादा पोशकमा खटिएर सूचना संकलनमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रहरी सहायक निरिक्षक युवराज गौतम र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी निरिक्षक थम्मन जिसीलाई प्रदेश प्रहरीले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले फरककोणलाई बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी अधिकारीसहित सात जनालाई सम्मान गरेको छ ।
रेकर्डमा रहने गरि नगदसहित पुरुस्कृत हुनेहरुमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी निरिक्षक रिदेश सापकोटा, वडा प्रहरी कार्यालयमा कार्यरत सइ बिष्णबहादुर केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत सइ कबिराम सेन्चुरी, अस्थायी प्रहरी चौकी रिहारमा कार्यरत असइ शोभा गिरी, अस्थायी ट्राफिक पोष्ट गोठीखोलामा कार्यरत असइ तिर्थ भुसाल, प्रहरी चौकी गोग्लीमा कार्यरत प्रहरी जवान बिनोद माझी, वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान अनु भण्डारी सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयलले ६६औं प्रहरी दिवसको अवसरमा तुलसीपुरस्थित संघीय प्रहरी इकाइ कार्यालयमा बुधबार गरेको कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधिश रितेन्द्र थापाले प्रहरीको प्रमुख दायित्व समाजको शान्ति सुरक्षा भएको बताए । प्रहरी अठोटका साथ निष्पक्ष भएर लागेमा समाजमा शान्ति कायम हुने उनले बताए । कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निष्पक्षताका साथ बिचलित नभएर शान्ति सुरक्षामा खटिन आग्रह गरे ।
संघीय प्रदेश इकाई प्रहरी कार्यालयका एसपी राजेन्द्र खड्काको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अतिथिहरुलाई धन्यबाद मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गरेका थिए ।
