
दाङ, जेठ १० । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखि प्रदेशसभा सदस्यहरुको हस्ताक्षरको कागजपत्र माग गरेको छ ।नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी यादब– भट्टराई समुह र राष्ट्रिय जनमोर्चाका बिपक्षी सांसदहरुले लिखित निवेदन दिएर हस्ताक्षरको कामजात मागेका हुन ।
मुख्यमन्त्री पोखरेलको नियुक्ति असंवैधानिक रहेको भन्दै बिपक्षी गठबन्धनले सर्वौच्च अदालत जानका लागि भनेर कागजात माग गरेको हो । यसअघि माग गर्दापनि नपाएको हुँदा सोमबार लिखित रुपमा बिपक्षी गठबन्धनका बहुमत सांसदले कागजातहरु माग गरेको नेपाली काँग्रेसका नेता तथा सांसद डिल्लीबहादुर चौधरीले बताए ।
गठबन्धनले सोमबार नेपालको संविधानको धारा र सूचनाको हक सम्बन्धी २०६४ दफा ३ वमोजिम प्रदेश प्रमुखको कार्यालयमा लिखित रुपमा कागजात मागेको उनले बताए ।
नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमोका सांसद तारा जिसीले प्रदेश प्रमुखको कार्यालय पुगेर कागजपत्र माग गर्दे निवेदन दर्ता गराएको चौधरीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रस्तावसहित आफुहरुले बुझाएको हस्ताक्षर समेत मागेको चौधरीले बताए ।
बिपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले एमाले छोडेकी विमला कुमारी खत्रीको किर्ते हस्ताक्षर बुझाएको, उपसभामुख कृष्णी थारुले सरकार बनाउन र ढलाउन हस्ताक्षर गर्न नपाउने कानुनी बाध्यता रहेको कुरा उल्लेख गर्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेको छ ।