काठमाडौं, जेठ ६।राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन्। उनले जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छन्।
संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको उल्लेख गरेकी छन्।
राष्ट्रपतिले शुक्रबार साँझसम्म विश्वासको मत प्राप्त गर्ने आधारसहित सरकार गठनका लागि आह्वान गरेकी हुन्।

वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाएका थिए।
संविधानको धारा ७६ को उपधारा ३ मा संसदमा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते तीन दिनको समय राखेर वैकल्पिक सरकार बनाउन आग्रह गरेको समयमा सरकार नबनेपछि ओली पुनः प्रधानमन्त्री बनेका थिए।
ओलीले जेठ ३० गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भए पनि उनले विश्वासको मत नलिने निर्णय गरेका हुन्।
बिहिबारको मन्त्रिपरिषद बैठकमा आफूले विश्वासको मत नलिने जानकारी गराएका थिए।