दाङ, जेठ ५ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्तिमार्फत प्रतिपक्षमा बस्ने निर्णय भएको उल्लेख गरेका छन् ।
जसपाको यो समझदारीले बहुमतको समर्थन लिएर सरकारको निरन्तरता दिन खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठेरो पर्ने राजनीतिक बृत्तमा चर्चा सुरु भएको छ ।
राजपाको आन्तरिक समझदारी पछि प्रधानमन्त्री ओलीले पुनः संसदमा विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना देखिएको छ । ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्राबधान छ ।
जसपामा ठाकुर र यादवबीच ओली नेतृत्वको सरकारमा सहभागी नहुने र आफ्नो पार्टीको नेतृत्वबाहेकको वैकल्पिक सरकारको पक्षमा पनि नलाग्ने समझदारी भएको छ । यही सवालमा यसअघि ठाकुर र यादव पक्षबीच आन्तरिक संघर्ष चर्किएको थियो ।
जसपाको निर्णयले राष्ट्रिय राजनीतिलाई तरंगित बनाइ दिएको छ ।
जसले गर्दा ओली सरकारको निरन्तरतामा ब्रेक लाग्ने र मुलुक मध्यावधि निर्वाचनतिरै धकेलिने संभावना बढेको छ ।
२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारको नीति तथा कार्यक्रम फेल हुँदा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा गएका थिए ।
प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसके प्रतिनिधिसभा विघटन हुने संवैधानिक व्यवस्था छ ।
जसपाको साथ नपाउने भएपछि ओलीलाई जेठ १५ मै बजेट ल्याउन समेत चुनौति हुने ठानिएको छ ।