
काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाको आगामी बैठक बुधबार दिउँसो बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजबादी पार्टीका सांसदहरुको विरोध गरेपछि सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका थिए ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पहिलो बैठक नै बहिष्कार गरेको थियो ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गर्दै रोष्टम घेराउ गरेको थियो।
सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद्मा (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसहरु उभिएर विरोध गरेका थिए।
काँग्रेसले उक्त अध्यादेश संविधानको मर्म विपरित ल्याइएको भन्दै त्यो फिर्ता गर्न माग गर्दे बैठकमा नाराबाजी गर्दै रोष्टम घेराउ गरेको हो । संसदको सातौं अधिवेशन सुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सांसदहरु बिरोधमा उत्रिएका थिए ।
उनीहरुले उठेर नाराबाजी गर्न थालेपछि सभामुख अग्नि प्रसाद सापकोटाले सुरुमा १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । सहमति खोज्ने प्रयास संभव नभएपछि सभामुख सापकोटाले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै फिर्ता लैजान आग्रह गरेकी थिइन । उनले संबैधानिक परिषद् कुनै प्रधानमन्त्रीले, कुनै सरकारले नियुक्ति गर्ने ठाउँ नभएको भन्दै राज्यले नियुक्ति गर्ने ठाउँ भएको हुँदा अध्यादेश फिर्ता गर्न माग गरिन ।
राज्यका संबैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको नियुक्ति गर्ने काम अध्यादेश मार्फत गर्नुले संविधानको धज्जी उडाउने काम भएको हुँदा त्यो अध्यादेश फिर्ता हुनुपर्ने उनको माग थियो । ‘ अध्यादेश संविधानको भावना विपरित छ,’ उनले भनिन् ‘ यो अध्यादेश संसद भित्र प्रवेश नगराएर तुरुन्तै फिर्ता लैजान प्रमुख प्रतिपक्षी दल आग्रह गर्दछ ।’
उनले प्रतिनिधिसभा पुर्नस्थापित भएपछि पनि पहिलो बैठकमा नै सरकारले संसदीय अभ्यासलाई सुचारु रुपले अगाडि बढाउन नदिएर व्यवधान खडा गरेको आरोप लगाइन ।
त्यस्तै उनले महिला नेतृत्व रहेको उपसभामुख पदको निर्वाचन नभएको प्रति पनि आक्रोश पोखिन ।
‘महिला दिवसको पुर्व सन्धामा भन्न पनि दुख लागेको छ आज लाग्ने ३ बर्ष भईसक्यो फरक दलले, महिला नेतृले उपसभामुख पदको निर्वाचान गरौ भनेर थाल्दा पनि महिला नेतृत्वमाथी चुनौति खडा भएको छ,’ उनले भनिन ।
कांग्रेसका सांसदहरु उभिएपछि सभामुखले प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्नका लागि समय प्रदान गरेका थिए। प्रमुख सचेतक खाँडले संविधान विपरित आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता हुनुपर्ने माग गरे ।
‘असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्न। पहिलोपल्ट सरकारले फर्कायो अनि फेरि ल्याइयो,’ उनले भने ‘ यो अध्यादेश यो सदनमा प्रवेश गर्न सक्क्तैन। यो असंवैधानिक अध्यादेश अबिलम्ब फिर्ता गरियोस ।’
