
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव पार्टी र सरकारबीच कुनै समस्या आए छलफल र वार्ताबाट समस्या समाधान गर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमतिपछि शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब कुनैपनि समस्या आएमा छलफल मार्फत त्यो समस्या समाधान गर्न तर्फ लाग्ने बताए ।
उनले विप्लव माओवादीले शान्तिपूर्ण बाटोबाट गतिविधि गर्ने र शान्तिपूर्ण ढंगले काम गर्ने भएपछि नेता कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर छोड्ने क्रम अघि बढाउने जानकारी दिए ।‘मुद्दा मामिला छन भने टुंगिन्छन,’ ओलीले भने ‘छोड्ने क्रम सुरू भइसकेको छ ।’
सरकार र बिप्लव नेकपा बीच भएको सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको पनि उनले तर्क गरे । ‘हामी हरेक कुरा युग परिवर्तनकारी ढंगले गरेका छौं,’ ओलीले भने–‘गत वर्ष पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएका थियौं ।’
त्यस्तै उनले अब नेपालमा अब कुनैपनि हिंसात्मक द्वन्द नरहेको बताए ।उनले भने, ‘अब तेपालमा हिंसात्मक बाटो छैन। हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन ।’
उनले अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तिको मापदण्डमा अघि बढेको तर्क गरे । उनले भने, ‘यसअघि नै नेपालको शान्तिको स्थिति प्यारामिटर माथि थियो ।
अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो ।’ उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए । शान्तिको बाटोमा आउँदा विप्लवले साहसिक काम गरेको प्रधानमन्त्री ओलीले बताए।
