
घोराही, माघ ३० । बलात्कार पछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पहिचान र कारबाहीको माग गर्दै शुक्रवार घोराहीमा पर्दशन भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा घोराहीको बीपी चोकबाट पर्दशन सुरु भएको थियो ।
पर्दशनमा संल्गनहरुले भागरथी भट्टलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, सम्झना बिकलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गर र अपराधीलाई कारबाही गर भन्ने जस्ता नाराबाजी गरेका थिए ।
पर्दशन पछि उनीहरुले घोराहीको तुलसीपुर चोकमा आएर कोणसभा गरे । कोणसभालाई सम्वोधन गर्दै केन्द्रकी संस्थापक अध्यक्ष एवं मानव अधिरकारकर्मी विमला योगीले देशमा निर्दोश बालिका माथि बारम्बार बलात्कार पछि हत्या हुँदापनि राज्य मौन रहनु लज्जासपद भएको बताइन ।उनले महिलालाई कमजोर शक्तिका रुपमा नलिन चेतावनी दिदै छोरी छटपटाउदै मर्नु पर्ने दिनको अन्त्य हुनुपर्ने माग गरिन।
उनले महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित हुनु दुर्भाग्य भएको बताइन । सस्थाकी अध्यक्ष कल्पना न्यौपानेले राज्य निरिही बनेको हुँदा पटक÷पटक बालिका बलात्कार र हत्या जस्ता जघन्ने अपराध दोहिने गरेको बताइन ।
बालिका शिक्षा कार्यक्रमकी प्रमुख लक्ष्मी गुप्ताले बालिकालाई ढुक्कसँग पढ्न जाने वातावरण समेत नभएको भन्दै सरकार गम्भीर बन्न जरुरी रहेको बताइन ।
कोणसभालाई विद्यार्थी रोमिया आचार्य, सुजाता चौधरी, शोशिला ठाकुरले पनि सम्वोधन गरेका थिए । उनीहरुले भट्टको बलात्कार र हत्यामा संलग्न व्यक्तिको छिटो भन्दा छिटो पहिचान गरि दोषीलाई हदै सम्मको कानुनी कारवाही गर्न माग गरेका थिए ।
