
घोराही, कार्तिक २८ । घोराहीमा कृषि तथा अग्र्यानिक बस्तु किन्न पाइने सहकारी बजार सञ्चालनमा आएको छ । बजारको बारेमा शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरिएको छ । त्यो बजारले अब किसानले उत्पादन गरेका बस्तुले बजार पाउने अपेक्षा गरिएको छ ।
किसानहरुले उत्पादन गरेको खरिद गर्ने र उपभोक्ताहरुलाई सस्तोमा सामान दिने उद्देश्यले सहकारी बजार सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए । कृषि उत्पादनमा बिचौलिया हाबी हुँदा किसानले आफूले उत्पादन गरेको बस्तुको उचित मूल्य नपाएको र सहकारीले ठूलो मुनाफा नलिने भएका कारण सामान सस्तोमा दिन सकिने अध्यक्ष पौडेलले तर्क गरे ।

सहकारी बजार ब्यवस्थापन प्रमुख माधव खनालले बजारलाई दिगो बनाउन शेयर सदस्यहरुलाई उत्पादनतर्फ प्रेरित गर्ने बताए । त्यसका लागि सस्तोमा ऋण लगानी गर्न थालिएको उनले जानकारी दिए ।
सहकारी बजार परियोजनामा सामान खरिद तर्फ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैया अनुदान र संस्थाको ५३ लाख ६० हजार ८ सय २८ गरी १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैया रहेको छ ।

त्यस्तै चालु पूँजीतर्फ ४० लाख ५५ हजार ६ सय ५२ गरी कुल १ करोड ४३ लाख ६८ हजार ४ सय २८ रुपैयाको लागतमा बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दैनिक उपभोग्य वस्तु तथा द्यान्नहरु,स्टेश्नरी तथा गिफ्टका समेत बस्तुहरु पाइने छ । साथै अनलाइनबाट खरिद, होम डेलिभरीको र डिजिटल भुक्तानीको माध्यमबाट कारोबार हुने ब्यवस्था पनि गरेको जानकारी दिइएको छ ।
सहकारी बजारको शनिवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्रि आरती पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
