२०८३ असार १० गते बुधवार

तिहारमा भारतबाट फूल नल्याइने


काठमाडौं, कात्तिक १५। बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी देश भारतबाट फूल आयात नहुने भएको छ । गएकाे वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गएकाे वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० रुपैयाँ बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताए ।

विगतका वर्षमा तिहारमा मात्रै १५ करोड रुपैयाँकाे फूल कारोवार हुने गरेको थियो । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाण्डाै उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ ।

कारोवारमा कमी
यस वर्ष फूलको कारोबारमा कमी आउने पक्का भएको छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोबार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो । अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्ट्रेलिया र मलेशियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *