
तुलसीपुर, असोज २० । दाङको भालुवाङ प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णयको नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीयसदस्यहरुले स्वागत गरेका छन् ।
रुपन्देही क्षेत्रका काँग्रेस नेताहरुको निर्देशनमा आन्दोलन चलिरहँदा बुटवल पश्चिमका काँग्रेस केन्द्रीय सदस्यहले दाङलाई राजधानीबनाउने निर्णयको स्वागत गरेका हुन ।
संयुक्त विज्ञप्ति मार्फत प्रदेश ५ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु दिपक गिरी, किशोरसिंह राठौर, पार्वताडिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगल प्रसाद थारु, योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्नेनिर्णय उपयुक्त भएको भन्दै स्वागत गरेका छन् ।
त्यस्तै प्रतिनिधिसभा सांसद समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र पूर्वराज्यमन्त्री रहिसकेका रोल्पा पूर्वकासभापति अमरसिह पुनले पनि भालुवाङलाई राजधानी बनाउने कुरा जायज रहेको भन्दै त्यसको स्वागत गरेका छन् ।
उनीहरुले प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश गरे लगत्तै त्यसको पक्ष र विपक्षमा बहसहरु चलिरहेकोप्रतिआफुहरुको गम्भीर ध्यानाकर्षण भएको पनि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै उनीहरुले यो विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाउन आग्रह गरेका छन् ।विज्ञप्ति मार्फत जनतालाई उत्तेजित बनाउने कार्य कहींकतैबाट नगराउन पनि उनीहरुले आग्रह गरेका छन् ।
प्रदेशको नाम र केन्द्र निर्णय गरी निणयार्थ प्रदेशसभामा पेश भएको प्रस्तावको पक्ष र विपक्षमा मंगलवार मतदान हुँदैछ । उनीहरुले जारीगरेको विज्ञप्तीमा सामरिक दृष्टिकोणले देउखुरीको भालुवाङ प्रदेशको राजधानी निकै उपयुक्त स्थान रहेको उल्लेख गरेका छन् ।
सिफारिस गरिएको स्थान भालुवाङ सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक श्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार सबैलाई सुविधायुक्त रहेको उनीहरुले उल्लेख गरेका छन् ।
