दाङ, असोज १८ । नेपाली काँग्रेस बाँकेले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउन प्रदेश सभामा पेश गरेको प्रस्ताव सर्वसम्मत रुपले पारित गर्न आग्रह गरेको छ ।नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आइतबार एक विज्ञप्ति प्रकासित गर्दै प्रस्तावित नाम र स्थानलाई प्रदेश सभाबाट यथाशिघ्र पारित गरी कार्यान्वयनमा लैजान माग गरेकी छन ।
सरकारले प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवललाई घोषणा गरेपछि बाँके र बर्दियाबासीले यसअघि असन्तुष्टी जनाउँदै आएका थिए। प्रदेश राजधानीका हिसाबले बुटवल पायक नपर्ने भन्दै बरु बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग यहाँ जोडदार रुपले उठेको थियो। ‘अहिले यस क्षेत्रका जनताको व्यापक जनदवाबका कारण प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भालुवाङमा राख्ने प्रस्तावको निर्णय भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘बाँके जिल्लाका जनताको भावनालाई नसमेटिएता पनि प्रस्तावित राजधानी भौगोलिक रुपले ५ नम्बर प्रदेशका सबै जिल्लाहरुको शुलभ पहुँच हुने भएकोले प्रदेशको नाम र स्थान उपयुक्त रहेको हुँदा नेपाली कांग्रेस बाँकेले यसलाई सकारात्मक रुपमा लिएको छ।’

कांग्रेस बाँकेले पटक–पटक साबिक मध्यपश्चिम क्षेत्रको औद्योगिक स्थलको रुपमा परिचित नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सरकारका सम्बन्धित निकायहरुमा डेलिगेशनसहित माग राखेको भएपनि त्यसको सुनुवाई नभएको कुरापनि विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले प्रदेश राजधानीको विषयमा विभिन्न वहानामा जनताका भावनालाई खेलवाड गर्दै षडयन्त्र नगर्न आग्रह समेत गरेकी छन् ।
प्रदेश पाँचको राजधानी बुटवलभन्दा भालुवाङ धेरै उपयुक्त रहेको सभापति कोइराला स्पष्ट पारेकी छन् । ‘भौतिक संरचनाको हिसाबले नेपालगन्ज र बुटवलमा भएको जति भालुवाङमा त नहोला, तर सबै जिल्लाको केन्द्रको हिसाबले भालुवाङ सबैलाई पायक पर्ने देखिन्छ,’ उनले विज्ञप्तिमा भनेकी छन् ।
कुनै कारणले भालुवाङलाई स्थायी राजधानी घोषणा गर्न खिचातानी भएमा बाँके जिल्ला कर्णालीमा जान बाध्य हुने उनले चेतावनी समेत दिएकी छन् । प्रदेश राजधानीका लागि नेपालगन्जमा एक संघर्ष समिति नै बनेको थियो।
