
यमकला भुसाल,
तुलसीपुर,भदौ २५ । दाङको तलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनि स्थित बसन्तपुर टोल सुरक्षा समितिको सक्रियतामा घरेलु मदिरा नष्ट गरिएको छ । बिहिबार टोल सुरक्षा समितिको छडके निरिक्षणमा सोही टोलमा बस्ने बसन्ता पोखरेलको घरबाट तयार हुँदै गरेको अन्दाजी १ सय २० लिटर कच्चा पदार्थ (जाँड) र तयारी भएको ५ लिटर रक्सी नष्ट गरिएको समितिका उपसंयोजक संगिता बिश्वकर्माले जानकारी दिइन ।
उनका अनुसार टोल सुरक्षा समितिको सक्रियता तथा अस्थायी प्रहरी पोस्ट पर्सेनिको सहभागितामा अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।अवैध मदिराले समाजमा शान्ति, सुरक्षामा असर पारेको भन्दै यसको न्यूनीकरण गर्न टोल सुरक्षा समिति सक्रिय बनेको समितिले जानकारी दिएको छ ।

साथै टोल – टोलमा हुने गरेका मदिरा सेवन,झै – झगडा जस्ता आपराधिक क्रियाकलापहरुलाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरका १९ वटै वडाहरूमा सुरक्षा समिति गठन गरेको जनाएको छ ।
