
दुखहरण यादव
गढवा, ९ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले राजनैतिक समिकरणले कांग्रेसलाई केही फरक नपर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं. १ देउखुरीको आयोजनामा आइतबार गढवा गाउँपालिका–५ बाँकीको सिपि हलमा आयोजित हातेमालो एवं वडास्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।
उनले जुन दिनदेखि पार्टी एकताबद्ध भएर लाग्छ त्यो दिन माओवादी, एमाले, राजपा फोरम जस्तोसुकै राजनैतिक दल मिले पनि नेपाली कांग्रेसलाई हराउन नसक्ने तर त्यसको लागि कांग्रेसभित्र मौलाएको गुट–उपगुटजस्ता भाइरसलाई हटाइ सिङ्गो नेपाली कांग्रेस बनाउनुपर्ने धारणा ब्यक्त गरे ।
कोइरालाले गत निर्वाचनले फुटको राजनीतिले कस्तो परिणाम आउँछ भन्ने देखाइसकेकोले अब फेरि भाइ फुटे गवाँरले पनि नेपाली कांग्रेसलाई लुट्न सक्ने भएकोले अब एकताबद्ध हुनुको विकल्प नरहेको बताए । महामन्त्री कोइरालाले कम्युनिस्टहरु सधै धोका दिनमात्रै जानेकोले विश्वासको पात्र न भएको बताउँदै नेपाली काँग्रेस आफ्नो विचारमा अडिग र जनताको बीचमा लोकप्रिय भएकोले अब आउँदा दिनमा कुनै पनि राजनैतिक दलसँग मिलेर चुनाव जित्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा.मिनेन्द्र रिजालले सरकार आफ्नै कारण भोट गुमाउने अवस्था आएको बताए । ‘सरकारको गतिविधि जनताले नजिकबाट नियालेका छन्, स्वयम् सरकारले आफ्नो मत घटाउँदै छ’ उनले भने । पूर्व सिंचाई मन्त्री दिपक गिरीले कांग्रेसप्रति जनताको विश्वास थपिदै गएको विचार व्यक्त गरे । उनले कांग्रेस विगतको जस्तो नभएको भन्दै अहिलेको वर्तमान परिस्थिति अनुसार कांग्रेस अघि बढेको बताए ।
कार्यक्रममा सञ्जय गौतम, रामकृष्ण यादव, केन्द्रीय सदस्य पार्वती चौधरी, महासमिति सदस्य अनिता देवकोटा, युवा नेता योगेन्द्र चौधरी, सुशीला चौधरी, राजु खनाल, नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगी, स्व. खुमबहादुर खड्का पुत्र अनुराग खड्कालगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपसभापति हरिहर शर्माले गरेका थिए । कार्यक्रममा १५ जना भन्दा बढी पूर्व माओवादी कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
– प्रदेश टुडेबाट
