२०८३ मङ्सिर १२ गते शुक्रवार

बर्षाैं पछि मैले हेरेको ‘बाटुलो जून’


खेमराज खड्का –


तुलसीपुर , मंसिर ११ ।


मैले कहिलै कुनै फिल्म बारे कमेन्ट्री लेखेको छैन । म फिल्म समिक्षकपनि होइन । तर, झन्डै ९ बर्ष पछि मात्रै मैले यसपाली सिनेमा हलमा पुगेर ‘बाटुलो जुन’ हेरे । त्यो पनि तुलसीपुरमा ।
९ बर्षअघि मैले तुलसीपुरकै ‘बिष्णु चलचित्र मन्दिर’मा गइ चलचित्र ‘२ रुपैंयाँ’ हरेको थिए । त्यसको एक चर्चित गीत ‘कुटुमा कुटु सुपारी दाना’मा स्वस्तिमा खड्काको अभिनय अझैं स्मृतिमा ताजै छ । अहिले त्यो पुरानो बिष्णु चलचित्र पूर्ण रुपमा धम्पकाए सोही ठाउँमा कम्पिलेक्ससहितको नयाँ र आधुनिक सिनेमाहल निर्माण कार्य चलिरहेको छ ।


यतिखेर तुलसीपुरमा थप दूई नयाँ सिनेमाहलहरु निर्माण कार्य धमाधम चलिरहेको छ । त्यसका अलावा तुलसीपुरमा हालसालैदेखि अर्काै एउटा नयाँ ‘भिएक्स सिनेमाज’ संचालनमा आइ सकेको हुँदा म त्यही हलमा पुगेर सिनेमा हेरेको हुँ । यद्यपि यस्को औपचारिक उद्घाटन मंसिरमा मात्रै हुने संचालकहरुले अवगत गराएका छन् ।
तुलसीपुरको सबै भन्दा पुरानो ‘ऊं शान्ति सिनेमा हल’ भने बन्द भएको बर्षौं बितिसकेको छ । पुरानो पर्दाको त्यो हल त्यसै जिर्ण बन्दै उभिएको मात्रै छ । सायद तुलसीपुरमै सिनेमा हल संचालनमा हुन्थे त म यति बर्ष हलमा नपुग्ने कुरै हुन्थेन । तर, सिनेमा हेर्न जिल्लाकै घोराही जान मलाई मन परेन वा समयले साथ दिएन । जिल्ला बाहिर बाँके वा काठमाडौं गएको समयमा पनि फिल्म हेर्ने समय जुरेन भन्नु पर्छ । बरु घन्टौं चिया कफी गफमै साथीहरु संग बिते होलान ।


जेहोस मलाई यस्तो फिल भयो – स्थानीयस्तरमा केटी मान्छेलाई घरदेखि टाढाको सहरमा गइ हलमा सिनेमा हर्ने वातावरण अझैं बजार उन्मुख बस्तिमा बिकास भइ सकेको छैन । त्यो पनि मध्यम बर्गका छोरी चेली भए थप अनुसाशनमा बस्नु पर्ने हुन्छ । ती भन्दा ग्रामिण परिबेशमा बस्ने वा हुर्किएका छोरी चेलीलाई झनै थप जिम्मेवारी हुन्छन् । मेलापात, घर गृहस्थितका काम गर्नु पर्छ । सामाजिक र पारिवारीक रुपमा पनि थप कडा नियमहरु अनुशरण गर्नु पर्ने हुन सक्छ ।


अहिलेको यो आधुनिक परिबेशमा हुर्किएका छोरी चेलीलाई यस्तो छ भने आज भन्दा ४० वा ५० बर्ष पहिलेको ग्रामिण परिवेश कस्तो हुँदो हो ? त्यो भोग्ने भुक्तभोगी अझैं कति छन् कति । कतिका मनमा त्यो समयका चालचलन, भेषभुषा, साँझ बिहान हातमुख जोड्न गर्नुपरेका पैंठेजोरीका अमिट अनुभूतिहरु ताजै होलान । हामी भन्दा अघिल्लो पुस्ताले मात्रै पनि जीवन जिउन ठूलो परिश्रम गर्‍यो । खेतबारीमा पुरै मसल प्रयोग हुन्थ्यो । ढिकी –जाँतो आँफै चलायो । पानी घट्टहरुमा पिँधेका खानेकुराहरु खायो । त्यो बेला बिकट पहाडको जनजीवन झनैं पुरै मसलमा निर्भर हुने वाला थियो । ‘फिटेष्ट फर सर्भाइभल’ भने जस्तै । जस्ले गर्न सक्थ्यो उही सबल हुन्थ्यो ।


हो त्यही समयको कथा ‘बाटुलो जुन’ले पस्कने प्रयास गरेको छ । चलचित्रमा मुख्य अभिनेताका रुपमा अनमोल केसी र प्रिन्सी खतिवडा छन् । अनमोलका बुवा भुवन केसी, गरिमा पन्त लगायत कलाकारको मूख्य भूमिकाका वरिपरी चलचित्र घुमेको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले मिलेर लेखेको तथा अभिनेता भुवन केसीद्धारा निर्देशित फिल्म ‘बाटुलो जून’ का पात्रहरुको भूमिका बारे केही पछि संक्षेपमा चर्चा गरौंला । पहिला सिनेमा प्रस्तुत दृष्यको कुरा गर्न चाहान्छु । एक शब्दमा भन्नुपर्दा फिल्ममा कैद गरिएका दृष्यहरु लोभलाग्दा छन् । जिवन्त छन् । हरेक प्रकृति प्रेमीको मन रमाउने छन् ।
कन्चन पानी बगिरहेको एक जिवन्त नदी, त्यो वार पार गर्न चलाइने सामान्ने प्रकृतिको परम्परागत डुँगा, सुन्दर पहाडी परिबेश, सिताम्मे हिमाल, ढुँगा माटोबाट निर्मित कमेरो माटोले लिपेका परम्परागत घरहरु, साक्षर नभएपनि सहयोगी मनका मानिसको परिवेशले पुराना गाउँबस्तिको कथा पस्कन्छ ।


त्यसमाथि पूर्णिमाको प्रकासमा कैद गरिएका भिडियो सटहरु उत्कृष्ट छन् । भिडियो छायाँकनका दृष्टकोणबाट मात्रै जज गर्दा त्यतिधेरै खोट लगाउने चुक मैले देखिन । स्थानीयले पानी पर्दा ओढ्ने स्याङ्गो, मेला पर्वमा रमाउन प्रयोग भएको रोटेपिङ, खेतबारीमा गाडिएको परम्परागत पुतला आदि सजिब लाग्छन् ।
जुन परिकल्पना गरि दशकौं पहिलेको परिवेश देखाउन खोजिएको छ त्यो बेला अहिले जस्तो जताततै बिजुली बत्तीको झिलिमिली थिएन । उज्यालो भनेकै रातिमा टुकी, लाल्टिन वा झर्कौ नै थिए । हाम्रा अग्रजले जुनकिरीको साहेतामा पनि हिडे । मट्टीटेलको धुँवाको टुकी बत्ती वा लाल्टिन बालेरै स्वाँवा अक्षर पढे ।

सिनेमाको अर्कौै महत्वपूर्ण पक्ष भनेको संगै परिवारका सदस्य बसेर हेर्दापनि कँही कतैपनि मन्टो बटार्नु पर्ने, अप्ठेरा लाग्ने दृष्यहरु छैनन् । छ्या भन्नु पर्ने वा नजर हटाउनु पर्ने ठाउँ छैन । सिनेमा भद्दा अस्लिता भन्दा टाढा छ । निष्पट रातमा पुच्छरमा मधुरो भएपनि उज्लायो छर्दै उड्ने जुनकिरीको उज्लायो दृष्यले रोमाञ्ति पार्छ । टहटह जुनेली रातमा मुख्यपात्र बीचको यात्राको परिवेश सुन्दर छ । एउटा जुन आँकाशमा र अर्कौ जुन धर्तिमा भने जस्तै दृष्य छ । मेरो बगलमा पनि एउटै त्यस्तै जुन थियो । जस्को अनुहार पर्दाको मधुर प्रकाशमा पनि चन्द्रमा जस्तै टल्किन्थ्यो ।
सिनेमामा चाडपर्बमा लाग्ने मेला, रमाउने रोटेपिङ, स्थानीय लोकभाका – दोहारी खेल्ने प्रयोग भएका गीत संगित सबल पक्ष हुन ।
सिनेमामा रातिमा अंगुर बगानको रक्षाका लागि पुगेका मुख्य अभिनेता अनमोल त्यस्तै झर्कौसहित बगानमा डुलिरहेका हुन्छन् । गाउँलेलाई शिक्षाको उज्लायो दिने उदेश्यले संचालन गरिएको रात्रि कालिन पाठशालामा आउनेहरु सोही लाल्टिनकै उज्लायोमा पढिरहेको दृष्य जिवन्त लाग्छ ।


त्यो समय त्यस्तै थियो – शिक्षाको अभावका कारण चेतनास्तर कमजोर थियो । घरमा पालेका गाइ वा भैंसीले दूध नदिदा होस वा बालबालिका बिरामी पर्दा बोक्सी लागेको दोष गरिब तथा कमजोर ब्यक्तिमाथि अनाहकमा थुपार्ने गरिन्थ्यो । त्यस्ता ब्यक्तिमाथि क्रुर र अमानविय ब्यबहारहरु हुने गर्थे । कथामा त्यो कुरापनि समेटिनु तत्कालिन जमानाको चेतना प्रस्तुत गर्न खोजेको हुनुपर्छ ।
जडबादी समाज नै त्यस्ता ब्यक्तिका बिरुद्ध निर्मम भइ खडा हुन्थ्यो । तथ्य भन्दापनि हल्लाको भरमा । त्यही गरिब वा निर्धामाथिको अत्याचारको सीमा थिएन । ती कुरा कानुनले पनि बर्जित गरेपछि वा त्यसबाफत हुने सजायको डरले पनि ती कुरा हराउँदे जानु सकारात्मक पक्ष हो ।


फरक आमाका सन्तान माथि अर्की महिलाले गर्ने ब्यबहार समाजमा आजपनि उति धेरै फरक छैन । मुख्य नायिका माथिपनि त्यस्तै घटना घटेको देखाइएको छ । तर, त्यो तथ्य स्पष्ट बुझिने गरि भनिएको छैन । बुवा भने ‘जून’ माथि समान र उत्तिकै प्रेम दर्साइ रहेका हुन्छन् ।
हिरो र हिरोनी प्रतिको सम्मोहन कसरी बढ्यो । त्यो मिहिन ढंगले वा चाख लाग्दो गरि प्रस्तुत गरिएको छैन । मेलामा नाचगान गर्दा गीतकै माध्यमबाट वा चोरी गर्दाको पाइजुका कारण वा कालोमोसो दल्दा हिरोले लज्जित हुनबाट जोगाएको कारण ? त्यो कथा दर्शकको चित्त बुझ्दो गरि पस्किएको छैन । हिरो वा हिरोनीका बीचको प्रेम कथा ‘जष्टफर फिजिकल अट्याक्सन’ जस्तो मात्रै बनाउन खोजिएको छ । भावनात्मक सम्बन्ध त केबल उतार्धमा झल्कन्छ ।

दुई बीचमा प्रेम हुँदा हुँदैपनि हिरोले हिरोइन संग बिहे गर्ने हिम्मत देखाउन सक्दैनन् । थोरै आँट साहश नै नदेखाउने त्यस्तोपनि के हिरो ? एकजना मेरो मित्रले हलबाट बाहिर निस्कदै गर्दा प्रश्न गरेकी थिइन ।
प्रेमी छँदै लोकलाजका कारण अर्कै संग बिहे गरेको दृष्य कथाले बोलेको छ । उही गरिब धनी, उच निचको कथा सिनेमाले बोलेको छ । तर, मनदेखि मन पराएको मान्छे प्रतिको साँचो प्रेम भने बाँचुल्जेल रहन्छ भन्ने कुरा अन्तिममा देखाउन खोजिएको पनि छ । जो असत्य होइन ।
सिनेमामा प्रस्तुत कथा कुनै नौलो भने छैन । विश्वब्यापी रुपमा लेखिएका तथा बनेका सयौं चलचित्रका परम्पराबादी प्रेम कथा भन्दा ‘बाटुलो जून’ पृथक छैन । चलाख दर्शकका लागि यसपछि अब के होला ? भन्ने कौतुहलता कतै छैन । सामान्ने दर्शकले पनि अब यस्तो हुन सक्छ भनेर अनुमान लगाउने सक्ने सामान्ने कथा यस्ले पस्किएको छ ।


कथा नदी जस्तै सलसल बगेको छैन । ती जोड्ने फूलका थूँगारुपी शब्द वा जोड्ने फलामे छड वा साइलारुपी सेतुहरु कमजोर लाग्यो । बरु कथामा अस्वभाविक र असन्दर्भिक रुपमा केही अनावश्यक कुराहरुलाई बढी महत्व दिइएको छ । साँचो अर्थमा भन्नु पर्दा सिनेमाले दर्शकलाई इमोस्नल बल्याकमेलिङ गरि रहेझैं लाग्छ । खासमा सफल हुन नसकेका प्रेमीलाई टार्गेट गरे जस्तै भान हुन्छ । सामान्ने दर्शकलाई प्रेम कथामा रुमल्याएर आँशुको ब्यापार गर्न खोजे जस्तै प्रतिति हुन्छ । यद्यपी कथा भन्ने सैली राम्रो छ ।

सानो तिनो कुरामापनि मुख्य पात्रले आँसु चुहाउनु कथाले मागे भन्दा बढी नाटक लाग्छ । बिहे पछि नायिक (जून) घर छोडेर हिडेकी छन् । घर छोडेपछि उनी त्यतिका बर्ष कहाँ कसरी बस्छिन वा बाँच्छिन भन्ने संघर्षको कथा देखाइएको छैन । मुख्य नायक संगको बिहेपछि उनकी श्रीमतिको मृत्यु भएको कथाले बोल्छ । तर, कारण खुलाइएको छैन । जबरजस्तीको बिहे पछि दम्पत्ति बीचको कुनैपनि कुराहरु कथाले भन्दैन । यहाँनेर कथा अस्पष्ट, अधुरो र अपुरो लाग्छ ।
कुनैपनि दर्शकले अढाइ घन्टा लामो सिनेमा किन हेर्ने वा किन हेरिन्छ ? सिनेमामा कुनैपनि एउटा निश्चित सन्देश होस भन्ने चाहाना हुनु स्वभाविक हो । समाजका लागि त्यो स्पष्ट सन्देश प्रवाह गर्न यो सिनेमा चुकेको छ भन्दा ठूलो छेडखानी हुँदैन । ‘बाटुलो जून’ हरेपछि सार स्पष्ट नभए झैं लाग्यो । समाजका सामान्ने ब्यक्तिले गरेका असमान्ने लाग्ने कथाहरु हुन्छन् । ती पनि कथाले बोल्दैन । सामान्ने ब्यक्तिका संघर्षका कथा फरक वा बिशिष्ट सैलीमा पस्किन ध्यान दिइएको छैन । हाते क्रुसले केही बुट्टा कुद्नु वा बुन्नु, उद्यमशिलतामा लाग्न प्रेरित गर्नु भने सकारात्मक पक्ष मान्न सकिन्छ ।


सामान्ने रुपमा ‘बाटुलो जून’ एउटा गाउँमा हुने खाने परिवार अर्थात जमिनदारको छोरा सहरमा उच्च शिक्षा हासिल गरेपछि बैंकको आकर्षक जागिर लत्याएर सोझा सिधा गाउँलेका ज्ञानका आँखा खोल्न जागिर त्यागेको देखाइएको छ । मुख्य पात्र समाजको शिक्षाका लागि – लागि परेको देखाइनु बाहेक अर्कौ कुनै त्यस्तो मुख्य सन्देश छैन भन्नु धेरै ठूलो अन्याय हुँदैन ।


समाजको शिक्षाका लागि गरेको मेहनतकै कारण ‘नायक’ हुनु पुगेको समाजद्धारा सम्मानित भएको देखाइएको छ । त्यसले राम्रो काम गर्नुपर्छ भन्ने पाठ दर्शकलाई बोल्छ । यहाँ निरकक्षता अन्त्य गर्ने वा साक्षरता बढाएर समाजको चेतना जागृत गर्ने ध्ययले नायक अनमोल केसीले अभियान चलाएको भएपनि त्यसलाई कथामा भिलेन र हिरोको ब्यक्तिगत ईगो वा दुष्मनीका रुपमा मात्रै प्रस्तुत गरेको चित्त बुझेन । पटक/ पटक बिद्यालय नै भत्काउने बिरुद्ध सामान्ने कुकपिट बाहेक थप कानुनी रुपमा सजाय भएको , न्यायलयमा उभ्याइएको जस्ता कुरा कथाले बोल्दैन । सामान्ने ब्यक्तिगत झगडाका रुपमा मात्रै त्यसलाई चित्रण गरिएको छ ।


अर्कौ तर्फ पटक / पटक मुख्य अभिनेताहरुले चुरोटको धुँवा उडाइ रहँदा युवा पुस्तालाई गलत रुपमा प्रेरित गरि रहेभैंm भान हुन्छ । मुख्य पात्र बिरामी भइ अस्पतालमा छँदापनि चुरोट पिउन खोज्नु र चुरोट पिउन नपाए यस्तोपनि अस्पताल हुन्छ ? भन्ने ढंगले पेश हुने पात्रका रुपमा भुवन केसीलाई प्रस्तुत गरिएको छ । नेपालको सन्दर्भमा एउटा लिजेन्डका रुपमा हेरिने भुवनले अब सकारात्मक सन्देश दिने चलचित्रमा काम गरेको भए हुन्न्थ्यो भन्ने मनमा लागेको थियो ।

फिलिम ‘रियल होइन रिल’ हो भनिएला । तर, त्यो कुरा बारम्बार देखाइदा मेरो मनले मान्न तयार भएन । अझैं मलाई चित्त नबुझेको कुरा छ । छोरा अनमोलको अतित बनेर मध्यान्तरपछि भुवन आँफै बुढो प्रेमीको रुपमा प्रस्तुत भएको कुरा मलाई ब्यक्तिगत रुपमा उति चित्त बुझेन । उनी भन्दा अर्कै ब्यक्ति उभ्याइएको भए राम्रो हुन्थ्यो कि ? परिवारबादको आरोप वा गन्ध आउँदैन थियो कि ?

त्यसो नभए पनि एक असल अभिभावकको भूमिकामा उभिएको भए बढ्ता सुहाउँथ्यो कि ? अझैंपनि हिरो बनि रहने भुवनको चाहाना त्यति जबरजस्त सुहाएको छैन । आँफैले बनाएको फिल्ममा आफ्ना लागि कसैले कतै औंला उठाउनु, कतै अपमान हुन शब्दसमेत प्रयोग नहुनुले कथा बास्तबिक भन्दापनि बनावटी देखिन्छ ।

सबैको नजरिया फरक हुन्छ । पात्रको मात्रै कुरा गर्दा मेरो नजरमा प्रिन्सी खतिवडाले अरुले भन्दा कथालाई न्याय गरेकी छन् । उनको पहिलो प्रयास भएपनि अन्य सबै पात्र भन्दा मनदेखि भूमिका निभाउन सफल छिन् । उनको भेषभुषा, हाउभाउ, बोलिचालीका भाषा, बगानमा अंगुर चोर्न जाँदा फसाउन खनेको खाडल वा ट्रयापमा फसेपनि त्यहाँ हिम्मतले निस्कनु, पर्खाल नाघेर भएपनि आँफु फुत्कनु ग्रामिण परिवेशनकी कामकाजी वा स्टामिना भएकी एक साहासिक चरित्र निर्वाह गरेकी छन् ।

कथाभर उनका स्टेप, नाचगानका भावभंगी त्यति फितला छैनन् । पहिलो प्रयासमै उनी अरु भन्दा निकै अब्बल र बोल्डछिन भन्नु अतिसयोउक्ति होइन । फिजिकल्लीपनि उनी जिरो फिगरमा खुलेककी छिन् ।
हिरो कस्तो हुनुपर्छ ? अनुहार मात्रै सुन्दर भए पुग्छ कि कथाअनुसार अभिनयलाई न्याय गर्नु पर्छ ? आँफै नाच्न नजाने पनि अलसी नाचको भागभंगी कस्तो हुन्छ ? हुन त मैले पहिलो पटक अनमोलको सिनेमा हेरेको हो । तै पनि म्यागजिनहरुमा वा सामाजिक संजालमा मैले जे चर्चा सुनेको थिए – अभिनयमा त्यस्तो पाइन । नायक अनमोल केसी र उनले निर्वाह गरेको चरित्रमा खोट लगाउने थुप्रै ठाउँहरु मेरो आँखाले फेला पारे ।
आँफैले समाजका लागि खडा गरेको बिद्यालय जोगाउन नसक्ने पनि कस्तो नायक ? सहरमा पढे लखेको कलकलाउँदो उमेरको युवाले बिद्यालय भत्काउन आउनेहरु संग दर्शकको मन अघाउने गरि भिडेको देखिएन ।


पुरै गाउँले परिवेशको भकुरा भकुरीमा उनी रुमलिएका छन् । हिरोल चट्ट सोलिट किक– पञ्च हानोस वा उठाएर जमिनमा पड्कियोस, त्यो नभएर उडेर प्रहार गरोस भन्ने एक सामान्ने दर्शकको चाहाना उनले पुरा गर्न नसके झैं लाग्यो ।
हिरो भनेको अरु भन्दा पृथक , फरक नयाँ ढंगले काम गर्न सक्ने क्षमता भएको ब्यक्ति हुनुपर्ने बिषेशतामा अनमोल चुकेका छन् । नृत्यहरुमा उनले पस्कने हाउभाउमा त्यति राम्रो तालमेल छैन । भेषभुषा भने ग्रामिण परिवेश अनुसार सुहाउँदो छ । आम मान्छेले पत्याउने गरि कुनै पृथक कुरा उनले देखाउन सकेका छ्न भन्ने लाग्दैन । बिहेमा मन परेकी युवति उठाउन सहाशसमेत उनले गर्न नसक्ने एक आम र सामान्ने पात्रको भूमिका निर्वाह गरेका छन् ।
उनी बिरलै ठाउँमा मात्रै बोल्ड लाग्छन् । बिद्यालयमा एक महिलाले पत्र पढ्दा उनको आँखाबाट झरेको आँशुको दृष्य त्यति स्वभाविक लाग्दैन । बरु भावनात्मक रुपमा दर्शकलाई बल्याकमेलिङ मात्रै गरि रहेझैं लाग्छ ।
अनमोलका बुवा भुवन केसी बारे माथि केही हरफहरुमा भने भन्दा त्यति उल्लेख गर्न लायक कुरा छैन । उनको जहिले एउटै हरेराम हरे कृष्ण टाइपको एउटै खाले प्रस्तुतीको शिलशिला मात्रै छ ।
उही प्रेम कहानी, उही मिलन बिछोड । त्यति पृथक लाग्दैनन् । एक अब्बल कलाकार हुनुको नाताले अब उनले बोल्ने हरेक शब्द न्यायोचित हुनु पथ्र्यौ भन्ने मलाइ लाग्यो । सन्देश बहाक भए हुन्थ्यो भन्ने मनले चितायो । रोनाधोना वाला पात्र ।

चितामा सुतेकी प्रेमीकालाई सिन्दुर पोते र तिलहरी लगाइदिनेले जिउँदै छँदा आँफुले बिहेपछि मनकी प्रियसीलाई कहिलै संझेको कल्पेको वा भौतिक रुपमा किन भेटेनन् ? त्यो दृष्य देखिएन । छोराको बुढो रोल आँफैले निर्वाह गर्नु भन्दा अरु कसैलाई त्यो भूमिका दिएको भए परिवार बादको गन्ध आउँदैन थियो । देख्ने र हेर्नेलाई पनि न्याय हुन्थ्यो ।

नभए त्यो भूमिका पनि पुरै अनमोल र प्रिन्सी खतिवडालाई दिएको भयो बरु न्याय गर्थे कि ? उनीहरुलाई बुढो देखाउने कुचीकारहरु प्रसस्त छँदै थिए होलान । गरिमा पन्तको भूमिका सन्ुतलित छ । सभ्य, शान्त र शालिन । तर, उनको जुन नाम छ त्यो अनुरुपको अझैं पात्रमा डुबेर अभियन भएन, बोल्डनेस छैन । ‘काजीसाप’ भनिरहने एक अज्ञाकारी दासी समान ।

सायद त्यति ज्ञानी पत्निपनि हुँदैनन् । उनी अभियनामा त्यागी तपस्वी नारीको पुतला जस्तो मात्रै लाग्छिन् । भुवन जस्ले आँफु छँदै अकी दिदीलाई दुलहीका रुपमा अन्माउन तयार भएका थिए, उनलाई जीवनको उतरार्धमा सहज स्वीकारोउक्ती छ । संघर्ष कहाँ हुँदैन र ? जहाँपनि हुन्छ ? घर परिवार तथा माया प्रेममा पनि हुन्छ । तर, यहाँ नेर आपसमा कुनै नोकझोक सम्म छैन । उनको कुनै प्रश्नपनि छैन ।
अनमोल केसीको सहयोगी भूमिका खेलका युवाले निर्वाह गरेको चरित्र न्यायोचित छ । प्रिन्सीका साथीहरुको अभियन कमजोर छैन । जेहोस ‘बाटुलो जून’ सामाजिक परिवेशमा बनेको परम्परागत प्रेम कथा बोल्ने एक कथा हो । जस्को नाम ‘माउसुली’ वा ‘लासलाई सिन्दुर पोते’ राख्दापनि त्यति फरक हुन्थेन भन्ने मलाई लाग्छ ।

मैले माथि उल्लेख गरेझंै हेराइ र बुझाइ अ–आफ्ना हुन्छन् । त्यो ब्यक्तिमा निर्भर हुने कुरा हो । अहिलेको जमानामा हाम्रो समाजको चेतनास्तर अनुसारको सुहाउँदो ,खोज तथा अनुसन्धान मुलक कथाहरु नेपाली निर्माताहरुले पनि पस्कन सक्नुपर्छ ।
भरपुर पैंशा असुल वाला सिनेमा बन्नु पर्छ भन्ने एक आम दर्शक हुनुको नाताले भन्नु पर्छ । अन्यथा गाह्रो पिरो माफ होस । रिसानी नहोस । असभ्य रुपमा अस्लिल शब्दको बान बर्षा नगरियोस भन्ने चाहा राख्द छु । लगाउनेहरु चन्द्रमालाईपनि खोट लगाउँछन् । दागको कुरा गर्छन । कतिलाई त्यो कालो धब्बा कोठी समान सुन्दर लाग्छ । हैन त ?
‘बाटुलो जून’ नेपाली दर्शकका मनमा आँकाशको पूर्णिमाको जुन जस्तै छाइ रहोस । शुभकामना ।

प्रकाशित मिति : २०८३ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *