२०८३ मङ्सिर १० गते बुधवार

हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छ – मुख्यमन्त्री आचार्य


तुलसीपुर, मंसिर ९ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तरक्रिया कार्यक्रमलाई बुधबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नभई प्रभावकारी कार्यान्वयन र सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका हुन ।

हिंसाका घटनामा पीडितलाई दोषी ठहर गर्ने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको पहिचान, गोपनीयता र सम्मानको रक्षा गरी न्याय सुनिश्चित गर्नुपर्ने उनको जोड थियो ।
लैंगिक हिंसा मानव अधिकार, सामाजिक न्याय, समानता र सभ्य समाज निर्माणसँग जोडिएको विषय भएको भन्दै घरभित्र, सार्वजनिक स्थान, कार्यस्थल तथा सामाजिक सञ्जालमा हुने हिंसाका सबै स्वरूप अस्वीकार्य रहेको उनले बताए ।

मुख्यमन्त्री आचार्यले शारीरिक हिंसासँगै मानसिक, आर्थिक, यौनजन्य, सामाजिक तथा प्रविधिको माध्यमबाट हुने हिंसाले पनि व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र सुरक्षित जीवनयापनको अधिकार कुण्ठित गर्ने भएकाले हिंसालाई पहिचान गर्ने, त्यसविरुद्ध आवाज उठाउने र पीडितलाई न्याय दिलाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को परिकल्पना हिंसा, विभेद र असुरक्षामुक्त समाज निर्माणबाट मात्रै पूरा हुने भन्दै आचार्यले समाजका आधा जनसंख्याले भय र असुरक्षामा जीवन बिताउनुपर्ने अवस्था रहेसम्म समृद्धिको लक्ष्य अधुरो रहने तर्क गरे ।
हरेक महिला सुरक्षित, बालबालिका सम्मानपूर्वक बाँच्न पाउने र नागरिकले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको दाबी थियो ।

प्रदेश सरकारले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सीप विकास, उद्यमशीलता, निर्णय प्रक्रियामा सहभागिता तथा हिंसा प्रभावितको संरक्षण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताए ।

लैंगिक उत्तरदायी बजेट प्रणाली, महिला तथा बालबालिकामैत्री सेवा प्रवाह र सामाजिक विभेद न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको उनको जिकिर थियो ।

लैंगिक समानता महिलाको मात्रै मुद्दा नभई समग्र समाजको साझा सवाल भएको उल्लेख गर्दै उनले पुरुषले पनि सोच र व्यवहार परिवर्तन गरी हिंसा विरुद्ध आवाज उठाउनुपर्ने बताए । हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्नुको सट्टा कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्ने उनको कथन थियो ।

मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने १६ दिने अभियानलाई औपचारिक कार्यक्रममै सीमित नगरी वर्षभरि निरन्तर चल्ने सामाजिक जागरणका रूपमा अघि बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले सझाव थियो ।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णाकुश्मा थारु, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले सम्बोधन गरेका थिए ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रम सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *