
दाङ, कात्तिक २९ ।
सल्यान जिल्लामा जन्मिएका मुलुकका २८औैं प्रधानमन्त्री स्वर्गिय मरिचमानसिंह श्रेष्ठको शालिक सल्यानमा ठडिने भएको छ ।
उनको सम्मानमा शालिक निर्माण गर्न थालिएको अभियान्ताहरुले बताएका छन् ।
‘उहाँको सम्मान तथा स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले शारदा नगरपालिका–१, श्रीनगरस्थित रुकुम चोकमा उहाँको शालिक ठड्याउन फाउन्डेसन निर्माणको काम आइतबार करिब सकिएको छ,’ अभियान्ता युवराज खड्काले भने ।
बि.सं. १९९७ कार्तिक १९ गते सल्यान खलंगा अर्थात हालको शारदा नगरपालिका – २ खलंगामा जन्मिएका श्रेष्ठले शिक्षण सेवाबाट सार्वजनिक जीवन प्रारम्भ गरेका थिए । उनी स्थानीय बिद्यालयमा प्रधानाध्यापक भएपछि राष्ट्रिय पञ्चायत सदस्य, विभिन्न मन्त्रालयका मन्त्री तथा राष्ट्रिय पञ्चायतको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।
स्वर्गिय श्रेष्ठ २०४३ असार २ गते मुलुकको २८औं प्रधानमन्त्री बनेका थिए । उनी २०४६ चैत २४ गतेसम्म नेपालको प्रधानमन्त्री थिए । जनआन्दोलन थप चर्किय पछि त्यसको दुई दिन पछि राजा वीरेन्द्र शाहले चैत २६ गते राति पुनः बहुदल पुनस्थापनाको घोषणा गरेका थिए । त्यसपछि मात्रै मुलुकको ३० बर्षे लामो निर्दलिय पञ्चायती ब्यबस्थाको अन्त्य भएको थियो ।
पञ्चायतकालका अन्तिम प्रधानमन्त्री श्रेष्ठको २०७० साउन ३१ गते ७३ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा फोक्सोको क्यान्सरका कारण निधन भएको थियो । जतिखेर उनी एउटा सामान्ने नागरिकको जीवन यापन गरि रहेका थिए । आफ्नो घरमा गाइ पालेर बस्ने गर्दथे ।
लामो समयदेखि चर्चामा रहेको उनै श्रेष्ठको शालिक निर्माण अभियान सल्यानी युवाहरूको अग्रसरता तथा सल्यानवासी नागरिक र मरिचमान सिंह श्रेष्ठ फाउन्डेसनको संयुक्त प्रयासमा हाल आएर अघि बढाइएको हो ।
शालिक निर्माण गरि सौजन्य स्वरुप निशुल्क रुपमा सल्यानी मूर्तिकार टोपेन्द्र डाँगीले प्रदान गरेका हुन ।
हाल शालिक निर्माण कार्यको संयोजन युवा अभियन्ता युवराज खड्काले गरेका हुन । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) निकट मानिन्छन् ।
करिब ६ लाख रुपैयाँ अनुमानित लागत रहेको शालिक निर्माणका लागि विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट आर्थिक तथा निर्माण सामग्री सहयोग संकलन भएको खड्काले बताए ।
जिल्लाका राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणले समेत अभियानमा साथ र सहयोग रहेको खड्काले बताए ।
शालिक निर्माणसँगै श्रेष्ठले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको तथा प्रधानाध्यापकका रूपमा अध्यापन गरेको जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री त्रिभुवन जन माध्यमिक विद्यालय, लुहापिङमा श्रेष्ठको जीवन, योगदान र कर्मलाई समेटेर सार्वजनिक पुस्तकालय स्थापना गर्ने कार्यसमेत अघि बढाइएको खड्काले बताए ।


