तुलसीपुर, कात्तिक २८ ।
दाङमा शनिबार एउटा अनौंठो घटना घटेको छ ।
संगै बसेर मदिरा सेवन गरेका एक जनाले आफ्नै छिमेकीको शरिरमा पेट्रोल छर्केर आगो लगाइ दिएका छन् । प्रहरीका अनुसार ८५ प्रतिसत जति शरिर जलेका घाइतेको अवस्था गम्भीर छ ।
शनिबार दिउँसो सवा २ बजेतिर राजपुर गाउँपालिका– २ बेलाको खाल गैरा खेल मैदानमा मदिरा सेवन पछि राजपुर –२ मटेरियाका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले छिमेकी ४९ बर्षीय रुपलाल चौधरीको शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
आगोबाट गम्भीर जलनमा परेका चौधरीको लमही असपतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा लगेर उपचार भइ रहेको छ । प्रहरीका अनुसार चौधरीको अवस्था गम्भीर छ ।
कार्कीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर छिमेकी चौधरीको शरिरमा आगो लगाएपछि भागेका थिए ।
जिल्लाका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार फरार रहेका कार्कीलाई जिल्लाकै लमही नगरपालिका – ५ रातोडाँडा बाट नियन्त्रणमा लिइएको थियो ।
दुबैले संगै मादक पदार्थ सेवन गरेको र त्यसपछि भएको सामान्ने बिबादका क्रममा कार्कीले चौधरी माथि पेट्रोल छर्केर आगो लगाइ भागेको भन्ने खुल्न आएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
