तुलसीपुर, कात्तिक २७ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असोज महिनामा मात्रै मुटु सम्बन्धि सात वटा जटिल मानिने अप्रेसनहरु गरेको छ ।
चालु आर्थिक वर्षको असोज महिनामा १९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका छन् ।
तीमध्ये १९० जनाले ओपिडीमार्फत सेवा लिएको अस्पतालको रेकर्डमा छ । असोज १ गतेदेखि ३१ गतेसम्म सात जना बिरामीको उपचार भएको छ ।
यहाँ मुटुरोग उपचारका लागि छुट्टै ओपिडी सञ्चालनमा रहेको छ । मुटुरोगको उपचारका लागि फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीको नेतृत्वमा विशेषज्ञ टोली परिचालित छ ।
अस्पताल प्रसाशनका अनुसार मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ ।
जिल्लामा यो सेवा सुरु भएपछि हृदयघात भएका बिरामी लाभान्वित भएका छन् ।
मुटुको रक्तनलीसम्बन्धी उपचार सेवा दाङमा पहिलोपटक सुरु भएको हो । यसअघि मुटुको उपचारका लागि जिल्ला बाहिरका ठूला सहरहरुमा जानु पर्ने बाध्यता थियो ।
प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएपछि त्यो बाध्यता छैन ।
अस्पताल प्रसाशनका अनुसार मुटु रोगको उपचारका लागि प्रतिष्ठानमा क्याथ ल्याबसहित आवश्यक महत्वपूर्ण उपकरणहरू उपलब्ध छन् ।
मुटुरोगको उपचार सेवालाई थप सहज बनाउन प्रतिष्ठानले विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत हुन निवेदनसमेत पठाएको छ । सूचीकृत भएपछि बिरामीले प्रतिष्ठानबाटै थप सहुलियत प्राप्त गर्न सक्छन् ।
