२०८३ असार १३ गते शनिवार

आचार्य बालकृष्णले दाङमा जडिवुटी उद्योग स्थापना गर्ने कुरा फेरि उठाए

वशन्त आचार्य,
हरिद्धार भारत, साउन १८ । पतञ्जली योगपिठ हरिद्धारका आचार्य बालकृष्ण र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका बीचमा शनिवार भेटवार्ता भएको छ ।

भेटका क्रममा तुलसीपुरमा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने चासो देखाएका छन् । नगरप्रमुख पाण्डेले प्रतिनिधित्व गरेको मण्डलमा पतञ्जली योग समिति र तुलसीपुर उद्योग वाणिज्य संघको पनि प्रतिनिधत्व छ ।

भेटमा आचार्य वालकृष्णले पूर्ण तयारीका साथमा कार्यक्रम तालिका उपलब्ध गराउन आग्रह गर्दै स्वामी रामदेवलाई दाङ ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘तपाईहरु पूर्ण तयारीका साथमा काम अगाडि वढाउनुहोस्,स्वामीजीलाई ल्याउनका लागि हामी तयार छौं,’ उनले भने । आफु नेपाली भएकाले नेपाली भूमिमा काम गर्नका लागि उत्साहित भएको आचार्यले बताए ।

कतिपयलाई नेपालमा पतञ्जलीका वारेमा गलत भ्रम रहेकाले केही काम अधुरा रहेको हुँदा आँफु र स्वामी रामदेव नेपाल जान खोजेको राज उनले खुलाए । ‘नेपालमा काम गर्ने मौका पाए पतञ्जलीले अवश्य गर्नेछ,’ उनले भने ।

तुलसीपुरको वेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली जग्गामा काम गर्ने गरी केही समय पहिले प्रक्रिया अगाडि वढाइएको भएपनि आवश्यक सहयोग पाउन नसक्दा पछि हटेको दुखेसो पनि आचार्यले मेयर पाण्डेसंग पोखे ।

‘अहिले स्थानीय सरकार आएको छ। तपाईहरुले जग्गाको व्यवस्थाका लागि पहल गरिदिनुभयो भने अवश्य पनि केही नयाँ काम गर्नेछौं’,– आचार्यले भने । उनले विश्वविद्यालय परिसरमा प्राकृतिक चिकित्साशास्त्रको अनुसन्धान केन्द्र वनाउने आशा अझै बाँकी रहेको बताए । विश्वविद्यालयलाई कुनै पनि असर नपर्ने गरि बाँकी जग्गामा काम गर्न चाहेको उनले स्पष्ट पारे ।

‘विश्वविद्यालयलाई नै सहयोग पुग्ने खालको काम गर्न तयार छौं,’ उनले भने । ‘अहिले विश्वविद्यालयले प्रभावकारी ढँगले कार्यक्रम सञ्चालन गरेको छैन भन्ने सुनेको छुँ । हामी त्यसमा सहयोग गरेर काम गर्न चाहन्छांै,’– उनले भने । जडिवुटी खेती गर्ने किसानलाई उनीहरुले नै तोकेको न्यायपूर्ण मुल्य दिने समेत उनले प्रतिवद्धता जाहेर गरे ।

‘हामीले त्यही उत्पादन गर्ने, किसानहरुलाई उत्पादनका लागि प्रेरित गर्ने र जडिवुटी उद्योग सञ्चालन गर्ने हो,’ अचार्यले थपे ‘ तुलसीपुरमा स्थापना हुने उद्योगमा भारतबाट कच्चा पदार्थ लैजाने हैन ।’

तुलसीपुरमा वृहत योग शिविर र आयुर्वेदको कार्यक्रम सञ्चालनको भवन निर्माणका लागि भूमि पुजन एकैपटक गर्ने गरी तयारी गर्न समेत तुलसीपुरको प्रतिनिधि मण्डललाई आग्रह गरे । स्थानीय सरकारले जग्गा व्यवस्थापनको जिम्मा लिएमा तत्काल काम अगाडि वढाउन तयार रहेको उनले बताए । ‘म नेपाली भएको हुँदा त्यहाँ काम गर्न धेरै मन लाग्छ । तर, के गर्ने उपर्युक्त वातावरण भने पाइरहेको छैन,’ आचर्याले भने ।

त्यस्तै आचार्यले नेपाल संस्कृत विश्वविद्यालयको जग्गाको विकल्पका रुपमा समेत जग्गा खोज्नका लागि आग्रह गरे । ‘हामीलाई काम गर्न जग्गा उपलब्ध गराइदिनुहोस् । उपयुक्त मूल्य दिन्छौं र त्यहाँ उद्योग पनि स्थापना गछौं। त्यसका लागि संस्कृत विश्वविद्याल कै जग्गा चाहिन्छ भन्ने छैन,’–आचार्य भने ।

स्थानीय रुपमा जडिवुटी उत्पादन भए त्यो उचित मुल्यमा पतञ्जलीले किनिदिने हुँदा कृषकको आयआर्जनको बाटो वलियो हुने आचार्यले संभावना औंल्याए । भेटका क्रममा आचार्यले मह तथा जडिवुटीको पकेट क्षेत्र वनाउने,आयुर्वेद अस्पतालका साथै जडिवुटी उद्योग सञ्चालनमा उत्सुकता जाहेर गरे ।

छलफल कार्यक्रममा पतञ्जली योग पिठ नेपालका प्रमुख प्रभारी लवदेव मिश्र, प्रदेश नम्वर ५ प्रमुख प्रेम शाह, पतञ्जली योग पिठ दाङका डा.अरुणकुमार श्रेष्ठ, वडा अध्यक्ष टोपवहादुर केसी, कुमार लामिछाने, कार्यपालिका सदस्य चित्रा मल्ल, सुशिला वुढाथोकी, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य दुर्गा भण्डारी र सूचना अधिकारी झरेन्द्र खरेल लगायत सामेल थिए ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *