
तुलसीपुर , कार्तिक २ ।
तुलसीपुरको वीरेन्द्र चोकदेखि खानेपानी कार्यालयसम्म सोमबार एक सय ५० वटा सडक डिभाइडर स्थापना गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ६ हात्तीखौवास्थित राप्ती लाइफ केयर हस्पिटलले दुई लाख १० हजार मूल्य बराबरका ती डिभाइडर वीरेन्द्र चोकदेखि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय कार्यालयसम्म राखिएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले तुलसीपुर बजार क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले हस्पिटलले वीरेन्द्र चोकदेखि उत्तर तर्फ खाने पानी कार्यालयसम्म डिभाइडरहरु राखेर महत्वपूर्ण सहयोग गरेको भन्दै प्रसंशा गरे ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको गुम्ह्रा चोकदेखि बाहिनी चोक र वीरेन्द्र चोकदेखि खाने पानी कार्यालय सम्म झन्डै एक किलोमिटरको जतिको दुरीमा शैक्षिक संघ संस्था तथा हस्पिटलको सहयोगमा सवारी दुर्घटना न्यूनिकरणका लागि डिभाइडरहरु स्थापना गर्ने कार्य भएको भन्दै त्यसको संरक्षण गर्नू सबैको दायित्व भएको बताए । साथै उनले राज्यले गर्नुपर्ने काम यसक्षेत्रका सामाजिक संघ संस्थाले गरेर उदाहरण प्रस्तुत गरेको हुँदा स्थापना गरिएका डिभाडरमा क्षति पुर्याउने जो कोही ब्यक्ति भएपनि बिगोबराबरको दोब्बर क्षतिपुर्ती तिराउने चेतावनी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष देवबहादुर केसीले तुलसीपुर क्षेत्रमा भएका अत्यास लाग्दा दुर्घटना पछि राज्यले नगरेपनि उद्योग वाणिज्य संघले सुरुवात गरेको अभियानमा बिभिन्न शैक्षिक संघ संस्थाहरुले हातेमालो गरी उदाहरण प्रस्तुत गरेकोमा धन्यबाद ज्ञापन गरे ।
मदन आश्रीत चोक र गुम्ह्रा चोकका बीचमा हप्ता दिनको अवधिमा भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएपछि वाणिज्य संघका अध्यक्ष विनिल केसीले सडक सुरक्षाको लागि डिभाइडर स्थापनाको काम सुरुवात गरेको केसीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लाइफ केयर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हरिप्रशाद रिजालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानी प्रहरी प्रशासनको आग्रहमा आँफुहरुले दुई लाख १० हजार मूल्य बराबरका सडक डिभाइडरहरु स्थापना गरेको बताए ।
उनले तुलसीपुरका सडकहरु सुरक्षित राख्न सबै समाजिक संघ संस्थाहरुले हातेमालो गर्न जरुरी रहेको बताए ।
साथै उनले सबैलाई आ–आफ्नो सडक लेनको पालना गर्न आग्रह गर्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरे ।
हस्पिटल संचालक समितिका द्रार्ण वलीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का संचालक जीवन भण्डारीले गरेका थिए ।
यसअघि राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको गुम्ह्रा चोक हुँदै मदन आश्रीत चोक र त्यस उत्तरको बाहिनी चोकसम्म तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती बबई क्याम्पस, राप्ती परोकार संघ तुलसीपुर, ज्ञानज्योति फाउन्डेसन,डिभाइन टेम्पल लगाएतको सहयोगले डिभाइडरहरु स्थापना गरिएका थिए ।
डिभाइडरहरु स्थापना पछि त्यसक्षेत्रमा पछिल्लो समय दुर्घटनाहरु भएका छैनन् ।


