
तुलसीपुर, असोज २१ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले अबको दुई बर्ष भित्रमा दाङको टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तार भइ सक्ने बताएका छन् ।
बुधबार मन्त्री र प्राबिधिकसहितको टोलीले एयरपोर्टको स्थलगत निरीक्षण पछि दिउँसो यहाँस्थित कराही रिसोर्टमा आयोजित खुला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति आचार्यले कुनै नेताको इगोमा भन्दापनि तथ्यमा आधारित बिकास गर्न चाहेको बताए ।
‘मैले संसदमा भनेको थिए, कि त टरिगाउँ एयरपोर्ट बन्दै न भनेर बैज्ञानिक कारण दिनु पर्यो, होइन भने बैज्ञानिक कारण केही छैन भने टरिगाउँ एयरपोर्ट बनाउनु पर्यो भनेर हामीले भनेका थियौं,’ आँफुले सदनमा बोलेका कुरा स्मरण गर्दै आचार्यले भने ‘ सम्मानीय प्रधानमन्त्रीज्यू संग बस्दै गर्दाखेरी पनि हामीले टरिगाउँ एयरपोर्ट भनेको दाङको एयरपोर्ट मात्रै होइन र यो एयरपोर्ट बन्दै गर्दा लगभग सत्र अठार लाख जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पार्छ र यो एयरपोर्टको कुरा भनेको कनेक्टिभिटी मात्रै होइन कि यहाँका समग्र अर्थतन्त्रमा प्रभाव पार्ने गरि महत्व छ त्यही भएर टरिगाउँ एयरपोर्ट बन्नु पर्छ भनेका थियांै ।’
सांसद समेत रहका आचार्यले अहिलेको सरकारले बोल्दा ढंग नपुगाएको जस्तो गरेपनि काम गर्दा भने ढंग पुर्याएरै गर्ने गरेको बताए ।
‘पर्यटन मन्त्रीज्यूले स्थलगत अनुगमन पछि समय तोकेरै दुई बर्षमा एयरपोर्ट बनिसक्छ भन्नु भएको छ ,’ आचार्यले भने ‘ मैले के भनेको छु भने अब दुई बर्षसम्म तपाँइ दाङ आउनु पर्दैन अब सिधै टरिगाउँको एयरपोर्टमा ल्याण्ड गर्ने गरि उद्घाटन गर्न आउनु पर्छ भनेको छु ।’
राश्वपा महामन्त्री विपिनले आँफुले चुनाव ताका गरेको वाचापनि स्मरण गरे – ‘मैले भन्ने गरेको थिए यो पटक घन्टी बजानुहोस र घन्टीकाले काम गरेनन् भने अर्कौ पटक भोट माग्न आउँदा त्यही घन्टीले टाउकोमा बजानुहोस भनेको थिए । तर, यसैगरि काम हुन थाल्यो भने अर्कौ पटकपनि मतपत्रमै घन्टी बच्छ टाउकोमा घन्टी बज्दैन भन्ने मलाई लाग्छ ।’
साथै उनले राज्यले एयरपोर्ट बनाउँदै गर्दा सरोकार वाला अन्य निकायले पनि त्यो एयरपोर्ट दिगो कसरी हुन्छ भन्ने कुरा आफ्नो तयारी थाल्न उनले आग्रह गरे ।
राज्यले एयरपोर्ट बनाइ दिएपनि संधै राज्यले संचालन नगर्ने हुँदा एयरपोर्टको संचालन त्यससंग जोडिने स्टेक होल्डरहरुले कति मिहिन ढंगले काम गर्छन भन्ने कुराले अर्थ राख्ने उनको तर्क थियो ।
एयरपोर्ट बनाउँदै गर्दा सल्यान, रोल्पा बाट आउने बाटोका साथै अन्य बाटोहरुलाई पनि स्तरबृद्धि गर्नु जरुरी रहेको उनले बताए । साथै उनले ठूलो संभावना बोकेको तुलसीपुरको नेपाल संस्कृति विश्वविद्यालयलाई दाङ र नेपालमा मात्रै नभइ सही अर्थमा काम गर्न सकियो भने विश्व मानचित्रमा पनि स्थापित हुन सक्ने संभावना रहेको उनले औंल्याए ।
त्यसले पनि दाङलाई आर्थिक हवको रुपमा बिकास गर्न सक्ने संभावना उनले औंल्याए ।
त्यस्तै उनले टरिगाउँ एयरपोर्टको अपनत्व लिन सबै एकाकार हुन जरुरी रहेको बताए । नेपालकै पुरानो मध्यको २०११ सालमा स्थापना भएको एयरपोर्ट ७० बर्ष पुगिसक्दापनि अपेक्षित बिकास नभए पनि ‘देर आए दुरुस्त आए’ भने जस्तै अब भने एयरपोर्ट निश्चित रुपमा बन्ने दाबी गरे ।
छलफल कार्यक्रममा बिशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्गराज पौडेलले टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाँज अवतरण गर्न सक्ने गरि बिस्तारको काम थालनी गरिने बताए । टरिगाउँ एयरपोर्ट हाइटमा रहेको हुँदा नेपालगंजमा कुहिरो ढाक्यो भने वा अरु कुनै कारणले त्यहाँ बिमान अवतरण हुन नसक्ने अवस्थ ाबनेको खण्डमा टरिगाँउ बैकल्पिक महत्वको बिमानस्थलको रुपमा प्रयोग गर्न सहज हुने मन्त्री पौडेलले बताए ।

प्राबिधिक पक्षको पनि जाँच होस र आम नागरिक संगपनि साक्षात्कार होस भन्ने उदेश्यले आँफुहरु प्राबिधिकसहित एयरपोर्टको निरीक्षणमा आएको उनले जानकारी दिए ।
दाङ एसियाकै ठूलो उपत्यका हुनु, प्राग ऐतिहासिक मानव विचरण गरेको ठाउँ हुनु, आसपासका पहाडी जिल्लामा हवाइ सेवा नहुनु, प्यूठानको स्वर्गद्धारी, सल्यानका खैराबाङ मन्दिर, तुलसीपुरमै नेपाल संस्कृत बिश्वविद्यालय हुनु, लुम्बिनीको राजधानी दाङमै हुनु जस्ता कारणहरुले, ऐतिहासिक गोरक्षरत्नाथको मन्दिर दाङमै हुनुले एयरपोर्ट बिस्तारको ठूलो संभावन रहेको औंल्याए ।
उनले दुई बर्ष भित्रमा कम्तिमा १४०० सम्मको रन वय बिस्तार गरि सक्ने आश्वासन दिए ।
राश्वपाका केन्द्रीय सदस्य तथा प्यूठानका सांसद सुशान्त बैदिकले घोराही कि तुलसीपुर भन्ने भौगोलिक राजनीतिका कारण हालसम्म इतिहास बोकेको टरिगाउँ एयपोर्ट बिस्तारमा बिलम्ब भएपनि अब छिट्टै यही सरकारले एयरपोर्ट बिस्तार गर्ने विश्वास ब्यक्त गरे ।

‘ म तुलसीपुरमै पढी हुर्केको ब्यक्ति हो,’ उनले भने ‘यस क्षेत्रको चौतफर्की बिकासका लागि यो एयपोर्टको बिस्तार हुन अति जरुरी छ ।’
कारण खोज्दै जाँदा राप्ती प्रादेशिक अस्पताल राम्रो संग नचल्नुको कारणपनि टरिगाउँ एयपोर्ट बिस्तार नहुनु पाइएको हुँदा एयरपोर्टको धावन मार्ग बिस्तार भएमा बाहिरका डाक्टर पनि बिरामी चेकजाँच गरि आउजाउ गर्न सहज हुने उनले बताए ।
राश्वपाका सहप्रबक्ता तथा समानुपातिक सांसद सुरेन्द्र चौधरीले यसअघिका नेताहरुले एयरपोर्ट बनाउँछौं भनेर पटक/ पटक ढाँटेपनि यसपाली दंगाली ढाँटिनु नपर्ने बताए । उनले टरिगाउँ एयरपोर्ट बिस्तार भए आसपासका आधा दर्जन बढी जिल्लाको आर्थिक अवस्था चलायमान बन्ने आशा ब्यक्त गरे ।
दाङ क्षेत्र नं. ३ का सांसद कमल सुबेदीले एयरपोर्ट नहुँदा अशक्त तथा बिरामी, गर्भबति महिलाले बाहिर उपचारका लागि िजानु पर्दा यात्राका लागि सास्ती खेप्नु परेको बताए ।
साथै उनले वातावरणनिय दृष्टिकोणले दाङको टरिगाउँ एयरपोर्टमा जाडो महिनामा छिटो घाम लाग्ने हुँदा नेपालगंज र भैरहवा एयरपोर्टको बिकल्प बन्न सक्ने बताए । टरिगाउँ एयरपोर्ट बिस्तार भएमा लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाहरुलाई आर्थिक हवका रुपमा बिकास गर्न सहज हुने उनले तर्क गरे ।
बिकासमा राजनीति नगर्न आग्रह गरेका उनले बिगतमा टरिगाउँ एयपोर्टका लागि धेरै ठूलो खर्च देखाएर तर्साउनले काम हुँदै आएको भएपनि अब बिस्तारको काम सरासर हुने दाबी गरे ।
दाङलाई पर्यटनको सर्किटसंग जोड्नका लागि पनि टरिगाउँ एयरपोर्टको बिस्तार अपिहार्य रहेको उनले बताए ।

कार्यक्रमलाई पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रशाद निरौलाले २०११ सालमा स्थापना भएको एयरपोर्टको बिस्तार प्रदेशको राजधानी भएको जिल्ला हुनुले पनि आवश्यक रहेको बताए । प्राबिधिक अध्यन पछि एयरपोर्टका लागि आवश्यक जग्गा प्राप्तिका लागि सबैको सहयोग आवश्यक पर्ने उनको तर्क थियो ।
तुलसीपुरकी उपमेयर श्यानी चौधरीले टरिगाउँ एयरपोर्टको बिकास र बिस्तारले मात्रै दाङ र आसपासका जिल्लाहरुको बिकासको ढोका खुल्ने बताइन ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले नेपालकै दोस्रो पुरानो टरिगाउँ एयपोर्टमा २०११ सालदेखि २०४२ सालमा अनवरत रुपमा घाँसे मैदामै जहाज सेवा चलेको भएपनि त्यसपछिका १५ बर्ष अवरोध भएको बिगत बताए ।
त्यस्तै उनले एयरपोर्टमा बिमान सेवा सुचारु गर्न १ बर्षसम्म उद्योग वाणिज्य संघले टिकटको जिम्मा लिएको स्मरण गर्दै एयरपोर्ट बिस्तार भएको खण्डमा ६ महिना त्यस्तो जिम्मा राप्तीका बाणिज्य संघहरुले मिलेर लिने बताए ।
‘ हरेक चुनाव आउँदा टरिगाउँ एयरपोर्ट बिस्तारको कुरा आउँछ तर पछि २६ बिगाहाको कम्पाउन्ड भित्र त्यो कुरा हराउँछ,’ उनले भने ‘ लोकेन्द्र बिष्ट मगर मन्त्री हुँदा दश करोड बजेट परेपछि कालोपत्रे भयो र इतिहासमै बढी पच्चिस करोड परेको हुँदा अब धावन मार्ग बिस्तार हुने विश्वास छ ।’
उनले बिकास अधिकार भएको भन्दै जबसम्म एयरपोर्ट बन्दैन तवसम्म संबृद्ध दाङ संभव नुहने बताए ।
कार्यक्रममा राश्वपाका तुलसीपुर नगरसभापति जिवन भण्डारीले टरिगाउँ एयरपोर्टको बिस्तारले मात्रै आसपासका जिल्लाको बिकासको ढोका खुल्ने बताएका थिए ।

