
तुलसीपुर, असोज १८ ।
तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिकास बारे खुल्ला छलफल हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री खड्गराज पौडेल, नेपाल नागरिक उड्यन प्राधिकिरण (क्यान) का महानिर्देशक मुकेश डंगोलसहित इञ्जिनियरहरुको टोली आएर एयपोर्टमै स्थानीय संग खुल्ला छलफल गर्ने भएको छ ।
साथमा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वापा) का महामन्त्री बिपिन आचार्य, दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुबेदीसहितको टोली उक्त छलफलमा सहभागी हुने छ ।
सरकारले गत बजेट बक्तब्य मार्फत टरिगाउँ एयपोर्टको धावन मार्ग बिस्तारका लागि भनेर २५ करोड बजेट छुट्याएको छ । रातो किताबमा समेत बजेट आइ सकेको छ । तुलसीपुर निवासी राश्वपाका एक नेता बिमल रिजालले मन्त्रीसहितको प्राबिधिक टोलीले सोही बजेटबाट कसरी बिस्तारको काम थालनी गर्ने भन्ने बारे छलफल गर्ने निर्णय गरेको बताए ।
मन्त्रीसहितको टोली बुधबार एयरपोर्टको स्थलगत निरीक्षण गर्न आउने हुँदा सोही समयमा एयरपोर्टमै खुल्ला छलफल आयोजना गरिएको रिजालले बताए ।
टरिगाउँ एयरपोर्टको धावन मार्ग जम्मा ७५० मिटरमा मात्रै कालोपत्रे छ । जस्ले गर्दा यहाँ ठूला बिमान अवतरण गर्न सक्दैनन् । त्यही भएर बर्षौंदेखि यसको धावन मार्ग बिस्तारको आवाज उठ्दै आएको छ ।
