रसुवा,असोज ४ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३६ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन् ।
फेला परेकामध्ये डीएनए नमूना लिएर १ हजार २९२ शवको व्यवस्थापन गरिएको छ । पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ ।
यसैबीच रसुवाको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालेका २४ जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ । हिजो सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बाढीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गरे ।
