विपद्मा परि ८५ जनाको मृत्यु

दाङ, भदौ ५ ।
लुम्बिनी प्रदेशमा मध्य जेठ पछि बिपदमा परि ८५ जनाको मृत्यु भएको छ । यो बीचमा सबैभन्दा धेरै ५८ जनाको डुबेर मृत्यु भएको छ ।
गत जेठ १८ गतेदेखि भदौ ३ गतेसम्म मनसुनजन्य विपद्का ९१ वटा घटना परि प्रदेशका ८५ जनाको मृत्युको भएको हो । ती मध्य १३ जना घाइते र दुई जना बेपत्ता रहेको जानकारी दिइएको छ ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा शुक्रबार मध्य जेठ यता पानीमा डुबेर सबै भन्दा धेरै ५८ जनाको मृत्यु भएको जानकारी दिइएको हो ।
त्यस्तै पहिरोमा परेर २० जना, बाढीका कारण चार जना , चट्याङ बाट सात जनाको मृत्यु भएको छ ।
पहिरो १० तथा अधिक वर्षाका कारण ६ वटा घटना भएका छन् । मनसुनजन्य विपद्का घटनाबाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको तथ्याङ्क छ ।
रोल्पाको थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जना घाइते भएका छन । रोल्पाकै सुनछहरी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । चार स्थानीय तहमा गरी ११ घरधुरी विपद्बाट विस्थापित भएका छन । चार स्थानीय तहमा गरी ३१८ घरधुरी जोखिममा रहेको बिवरण सार्वजनिक गरिएको छ ।
सुस्ताका २५ लाख र रोल्पामा ५० लाख पठाइयो

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्ले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मार्फत त्यो रकम खर्च गरिने छ ।
त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकातर्फको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परी आवागमन अवरुद्ध भएको हुँदा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको छ ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले त्यस्तो जानकारी दिएका हुन ।
परिषद्ले बाँकेको नेपालगंज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको गोदाममा मौज्दात राहत सामग्री रोल्पामा पठाईएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, ६ सेट किचन सेट र २० थान म्याट्रेस पठाइएको हो ।
साथै मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पा लगायतका जिल्लामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।