
दाङ, भदौ ५ ।
बाजुरामा अघिल्लो दिन पहिरोले पुरेर बेपत्ता एउटा गाइको बाछो शुक्रबार जिवित फेला परेको छ ।
जिल्लाको गौमुल गाउँपालिका – ३ कटीगाउँमा बिहीबार दिउँसो साढे ४ बजेतिर पहिरो स्थानीयका दुई घर पूर्ण रुपमा नष्ट भएका थिए ।
कटीगाउँका ५७ बर्षीय पुणिमल बोहराको ढुँगा, माटोको गारो भएको र ढुँगाकै छानो भएको तीन तले घर र सोही ठाउँकै ३८ बर्षीया बुदी बोहराको ढुँगा, माटोको गारो भएको तथा ढुँगाले छाएको तीन तले घर पुर्ण रुपमा नष्ट भएका थिए ।
पहिरोले घर पूर्ण रुपमा नष्ट गरेको हुँदा दुैबै घरका अन्न पात, भाडा बर्तन, लत्ता कपडा लगायत पुणिमलले पालेका ३ वटा गाइ र बुदीले पालेका २ वटा गाई, एउटा कुखुरा र ७ वटा खरायो पुरिएर बेपत्ता थिए ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले अबिरल बर्षाका कारण घर ठोठ भत्किदा पहिरोमा पुरिएर बेपत्ता पशु चौपायाको शुक्रबार बिहान सवा ८ बजेतिर प्रहरी र स्थानीय मिलेर खोजी थालेका थिए । सोही क्रममा एउटा गाइको बाछो बिहान ९ बजेपछि जिउँदै फेला पारिएको प्रहरी निरीक्षक शाहीले बताए । प्रहरी र स्थानीय मिलेर बेपत्ता बस्तु चौपायाको खोजी गर्ने क्रममा भत्किएको घरको संरचनाले पुरै पुरेको अवस्थामा पहिरो पंछाएर कालो रङको बाछोलाई निकालिएको शाहीले जानकारी दिए ।
अर्कौ एउटा कालो रङको गाइलाई पनि पहिरोले पुरै पुरेको अवस्थामा उद्धार गरिए पनि त्यो भने केही बेरमै मरेको प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ता अन्य पशु चौपायाको खोजी कार्य जारी रहेको शाहीले बताए ।
कटीगाँउमा बिहीबार दिउँसो साढे ४ बजेतिर पहिरोले पुर्याएको क्षति बारे वडाध्यक्ष गोरखबहादुर बोहराले बेलुकी सवा ५ बजेतिर टेलीफोन गरि इलाका प्रहरी कार्यालय गौमुलमा अवगत गराएका थिए ।
त्यसपछि खटिएको इप्रका गौमुलबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर शाहुको कमाण्डमा ३ जनाको टोली साढे ९ बजे घटनास्थल पुगेको थियो ।
पहिरोका कारण स्थानीय १२ जनाको घरहरु उच्च जोखिममा रहेको पाइएपछि क्षति भएका दुई वटा घरका मानिसहरु समेत गरि १४ घर परिवारका एक सय १५ जना मानिसलाई सुरक्षति स्थान स्थानीय देबेन्द्र धामीको खाली जमिनमा सारिएको थियो ।
रातिमा वडा कार्यालयले उनीहरुलाई पानी बाट जोगाउन त्रिपाल उपलब्ध गराएको थियो । त्यसैबाट टहरा निर्माण गरि उनीहरु रातभर खुला आकाश मुनी बास बसेका थिए ।
