
दाङ, साउन २८ ।
रोल्पाको थवाङमा पहिरो बाट थप एक जना महिलाको शब निकालिएको छ ।
बिहीबार बिहान ७ बजेपछि स्थानीय ७१ बर्षीया मनरखी पुन मगरको शब पहिरो पंछाएर निकालिएको हो ।
पहिरोमा परि ९ जना बेपत्ता छन् । पहिरोमा परि २ बालक, ३ महिला र ४ पुरुष बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरुको खोजी कार्य जारी छ ।
बेपत्ता हुनेमा
जस्मा मृतक कमलबहादुर पुन मगरको छोरी ४० बर्षीया जुनकुमारी पुन मगर, ९ बर्षीय अशिम पुन मगर, ६ बर्षीय अशोक पुन मगर, ७५ बर्षीय डलबहादुर पुन मगर, ८० बर्षीय अजम्बर पुन मगर, ७८ बर्षीय बलबहादुर पुन मगर, ७२ बर्षीय लिलबहादुर पुन मगर, ७१ बर्षीया मणी पुन मगर र ६७ बर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा बेपत्ताहरुको खोज तथा उद्धारका लागि जिल्लाका प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखु, जिल्लास्थित नेपाली सेनाको श्री सुर्य दल गण प्रमुख सेनानी दिपेश खड्का र जिल्लास्थित सशस्त्र प्रहरी बल आश्रीत गुल्म बाट सहायक प्रहरी नायव उपरीक्षक नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगाले नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
त्यसअघि पहिरोमा परि थबाङ गाउँपालिका – ५ की १८ बर्षीया शान्ति पुन मगर र अन्दाजी ६० बर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको थियो ।
पहिरोमा परि २२ बर्षीय हिमाल पुन मगर र २५ बर्षीय संजय घर्ती मगर घाइते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
बुधबार राति पौने ९ बजेतिर पहिरोले स्थानीय बोटलबाराका कमलबहादुर पुन मगरको घर लगायत ६ वटा घर गोठहरु माथिबाट झरेको पहिरोले पुरेको थियो ।
सूचना पाउना साथ इलाका प्रहरी कार्यालय उवा बाट सवा १० बजे पुगेर बेपत्ताको खोज तथा उद्धार कार्य सुरु गरेको थियो ।
अहिले पनि बेपत्ताहरुको खोजी तथा उद्धारको कार्य जारी छ ।
