२०८३ असार १४ गते आइतवार

तुलसीपुरमा थप रोलर,टिप्पर लगाएतका उपकरण खरिद गर्ने निर्णय


दाङ,साउन १५ । तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणका लागि उपकरण खरिदको प्रक्रिया अगाडि वढाउने भएको छ । कार्यपालिकाको ६६औं वैठकले प्राधिकरणका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रिया अगाडि वढाउन लागेको नगर प्रबक्ता सुर्यबहादुर डाँगीले बताए ।

उपमहानगरपालिकामा यो वर्ष ६० किलोमिटर सडक निर्माण गर्ने संकल्प गरेको छ । सडक पूर्वाधार निर्माणको कामलाई अगाडि वढाउने प्राधिकरण गठन गर्ने तयारी नगरले गरेको छ । प्राधिकरणको काम छिटो अगाडि वढाउन उपमहानगरपालिकाले उपकरण टेण्डर गरेर खरिद प्रक्रिया अगाडि वढाउन लागेको प्रबक्ता डाँगीले जानकारी दिए । प्राधिकरणका लागि आवश्यक पर्ने रोलर, टिप्पर, ग्रेडर, पानी ट्यांकी, विटुमिन उमाल्ने उपकरण, चिप्स मिक्सिङ प्लान्ट, एक्जाभेटर एक एक वटा र कम्प्रेसर २ वटा खरिद गर्ने नगरले निर्णय गरेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको कार्यपालिकाको वैठकले कच्ची घरहरुको अभिलेखीकरण र पुराना घरहरुको नक्सापासका लागि पुस मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गरेको छ । यसका साथै अवदेखि नयाँ घर वनाउँदा वडा कार्यालयको अनिवार्य रुपमा सिफारिस गर्नुपर्ने प्रावधान समेत वैठकले पारित गरेको छ ।

त्यसैगरी बैठकले यो आर्थिक वर्षको योजना समयमै सम्पन्न गर्न असोज महिनाभित्र अनिवार्य रुपमा उपभोक्ता समिति गठन गर्नुपर्ने, पुस मसान्तसम्म योजना सम्झौता र चैत्र मसान्त सम्म योजना सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि पारित गरेको छ । वैठकले विभिन्न वडामा प्राविधिकहरुको अभावलाई पूर्ति गर्न प्राविधिक करारमा भर्ना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *