मोटरसाइकल जंगलमा फेला

दाङ, साउन २३ ।
शुक्रबार दिउँसोदेखि बेपत्ता कपिलबस्तुको पूर्व मेयरको खोजी कार्य शनिबारपनि बिहानै देखि जारी छ । शुक्रबार पनि उनको खोजी मध्य रातिसम्म गरिएको थियो ।
यसअघि नेपाली काँग्रेसको तर्फबाट मेयरमा निर्वाचित भइ पाँच बर्ष कपिलबस्तुको मेयरको रुपमा काम गरेका ६५ बर्षीय किरण सिंहको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो जंगलमा फेला परेको थियो । प्रहरीका अनुसार उनी शुक्रबार बिहान कपिलबस्तु नगरपालिका – ३ स्थित घर बाट फर्ममा जान भनेर निस्किएका थिए । प्रहरीका अनुसार पूर्व मेयर सिंहले सोही जंगल क्षेत्रमा माछा पोखरी, कुखुरा पालनको लागि फर्म निर्माण कार्य गरि रहेका थिए ।
पूर्व पश्चिम राजमार्गदेखि अन्दाजी ७ / ८ किलोमिटर भित्र गोरुसिङ्गे जंगल क्षेत्रमा मोटरसाइकल रोकेर राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार दिउँसो देखि नै प्रहरी र स्थानीयले उनको खोजी थालेका थिए ।
जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक दीपक कँवरका अनुसार बिहीबार पनि ८० बढी नेपाल प्रहरी कुकुरसहित र स्थानीय समेत गरि एक सय बढी मानिस पूर्व मेयर सिंहको खोजीमा खटिएका छन् ।
सिंहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
