
तसलसीपुर , साउन १३ ।
दाङको दंगीशरण गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादन तथा मूल्याङकनमा जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
बितेको आर्थिक वर्ष २०८१ /० ८२ को उपलब्धिको आधारमा गाउँपालिका प्रथम भएपछि उस्ले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सम्मान कार्यक्रममा सात वटै वडाका ५१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई खादा, प्रशंसापत्र तथा ५१ वटा दराज हस्तान्तरण गरिएको हो ।
साथै, गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लामै उत्कृष्ट नतिजा हासिल हुनु स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिको अथक मेहनत, समर्पण र सेवाभावको प्रतिफल भएको भन्दै खुसी साटेका थिए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने सशक्त आधार भएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, पोषण, सर सफाइ, महिला तथा बालबालिकाको संरक्षण, वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा उनीहरूको योगदान अतुलनीय रहेको उनले चर्चा गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले महामारी तथा विभिन्न संकटको समयमा अग्रपङ्क्तिमा रहेर समुदायको सेवामा निरन्तर खटिने महिला स्वास्थ्य स्वयंसेविकाको समर्पण प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि उच्च मनोबलका साथ सेवामा खटिन आग्रह गरिन ।
महिला स्वास्थ्य स्वयंसेविकाका तर्फबाट गोमा न्यौपाने, स्वास्थ्यकर्मीका तर्फबाट आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा, कार्यपालिका सदस्य सीतारा नेपाली, वडा नं. ३ का अध्यक्ष शुक्लाल चौधरी, १ का अध्यक्ष रमेश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले आफ्नो मन्तव्य मार्फत थप हौसलाका साथ काम गर्न आग्रह गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकराण् कम्प्युटर अपरेटर प्रमोद आचार्यले गरेका थिए ।
गाउँपालिकाले स्वास्थ्य सेवा सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, जनस्वास्थ्य प्रवद्र्धन तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
