दाङ, असार २५ ।

इलाका प्रहरी कार्यालय सख्खडका प्रहरी प्रमुख डिएसपी प्रसन्नराज चौधरी जिल्ला तानिएका छन् ।
चौधरीलाई सोधपुछका लागि बुधबार राति जिल्लामा बोलाइएको हो । कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले डिएसपी चौधरी राति जिल्लामा आइपुगेको र उनले बोलेको बिषय बारे आँफुले सोधपुछ गर्न बाँकी रहेको बताए ।
‘ चौधरीले बोलेको कुरा सामाजिक संजालहरुमा भाइरल भएको देखिन्छ,’ चन्दले भने ‘ कुन प्रशंग र आषयले त्यो कुरा बोलेको हो भन्ने बारे सोधपुछ हुने छ ।’
सामाजिक संजालमा भाइरल भइ रहेको बिषय डिएसपी चौधरीले कहिले र कहाँ बोलेका हुन भन्ने बारेमा आँफुलाई जानकारी नभएको तथा त्यो कुरा सोधपुछ पछि मात्रै भन्न सक्ने एसपी चन्दले बताए ।
‘ सार्वजनिक कार्यक्रममा बोल्दाको बिषय के थियो र कुन आषयले त्यस्तो कुरा बोलिएको हो, त्यो कुरा बुझ्नका लागि चौधरीलाई जिल्ला झिकाइएको हो,’ चौधरीले भने ।
एसपी चन्दका अनुसार डिएसपी चौधरी संग अन्य सांगठनिक तथा आन्तरिक बिषयमा पनि सोधपुछ हुने तथा काउन्सिलिङ हुने छ । केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजना गरेको ‘लागुऔषध विरुद्धको सचेतनामूलक कार्यक्रम’मा डिएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति बिषेश वा राजनीतिक नेतृत्वको आधारमा भन्दापनि आफ्नै संठगनको मर्म अनुसार चेन अफ कमाण्डमा चल्ने संस्था रहेको भन्ने आषय ब्यक्त गरेका थिए ।
डिएसपी चौधरीले प्रधानमन्त्री बालेन शाहको नामै उल्लेख गरि सार्वजनिक मञ्चमै आँफु बालेनको प्रहरी नभइ आम जनताको लागि काम गर्ने पुलिस हो भन्ने आषय ब्यक्त गरेका छन् ।
‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ,’ उनले भनेका छन् ‘ केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो । यो बर्दी राष्ट्रपतिले लगाउन पाउनु हुन्न र हामीले मात्रै लगाउन पाउँछौं ।’
सार्वजनिक भिडियोमा उनले आफू प्रतिस्पर्धाको प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको हुँदा प्रहरी संगठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रिया अनुसार सञ्चालन हुने संगठन भएको बताएका छन् ।
यही अभिब्यक्तिका कारण चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कुनैपनि राष्ट्रसेवन कर्मचारीले पेशागत मर्यादा बिपरित ब्यक्ति लक्षित टिप्पनी गर्नु राम्रो नमानिने बताए ।
‘हामी राष्ट्र सेवक कर्मचारी समय अनुसार चल्न सक्नु पर्छ,’ उनले भने ‘ उच्च ब्यबसायिकता पर्दशन गर्न जरुरी हुन्छ ।’
डिएसपी चौधरीले बिषय वा प्रशंग भन्दा बाहिर गइ बोल्दा त्यो बिषय सामाजिक संजालमा चर्चाको बिषय बनेपछि माथिल्लो निकायले बोलाउनु, सोधपुछ गर्नु र भविश्यका लागि सजग गराउनु अन्यथा मान्न नहुने उनको भनाइ थियो ।
अर्का एक जना प्रहरी अधिकारीले भने डिएसपी चौधरीले प्रहरी निष्पक्ष र उच्च ब्यबसायिक छ भन्ने दृष्टिकोणले बोलेको हुँदा कुनैपनि गलत कुरा नबोलेको बताए ।
‘डिएसपी चौधरीले दिएको अभिब्यक्ति एकदमै सही र सत्य हो,’ उनले भने ‘यहाँ त सत्य बोल्न पनि डराउनु पर्ने अवस्था छ ।’
डिएसपी चौधरीले प्रधानमन्त्री बालेनको नाम लिएकै कारण उनलाई सोधपुछका लागि जिल्ला बोलाइनु सही नभएको उनको धारणा थियो ।
स्रोतका अनुसार डिएसपी चौधरीको त्यो सार्वजनिक अभिब्यक्ति पछि राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय तथा जिल्ला तहका नेताहरुले त्यस बारे प्रमुख जिल्ला अधिकारीका रेग्मीका साथै प्रहरी पमुख चन्दलाई फोन मार्फत कारबाही गर्न दबाब दिन थालेका थिए । त्यही दबाब पछि उनलाई जिल्लामा बोलाइ सोधपुछ गर्न थालिएको स्रोतको दाबी छ।
राश्वपा नेता तथा सरकार बाट प्रहरी प्रशासनलाई कुनै खाले दबाब नआएको प्रहरी प्रमुख चन्दले बताए ।