
दाङ, असार १४ ।
आँफैले चलाएको गाडी दुर्घटनामा परी अचेत अवस्थामा उद्धार गरि अस्पताल पुर्याइएका उपमेयरलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
प्यूठानको स्वर्गद्धारी नगरपालिकाका उपमेयर ५० बर्षीय उपमेयर मिनराज राना मगरलाई शनिबार राति ९ ः २० मा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका हुन ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले राति नै पोष्टमार्टको लागि शब जिल्ला अस्पताल बिजुवार पठाइएको जानकारी दिए ।
शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनी खसेको थियो । गाडीमा एक्लै सवार उपमेयर रुखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त गाडी भित्रै च्यापिएको अवस्थामा फेला परेका थिए ।
अप्ठेरो र भीरालो भूगोलका कारण टोचन लगाएतको सहयोगमा अचेत अवस्थामा उपमेयरलाई बेलुकी सवा ७ बजेमात्रै निकालेर संभव भएको प्रहरी प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए ।
घटना स्थालमा अस्थायी प्रहरी पोष्ट खाल बाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्मा नेतृत्वको टोली खटिएको थियो । उपमेयर मगर स्वर्गद्वारी बाट धनवाङपस्थित घर तर्फ जादै गर्दा दुर्घटनामा परेका थिए ।
मगर २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।
घटना अस्थायी प्रहरी पोष्ट खाल बाट अन्दाजी ९ किलोमिटर उत्तर पुर्वमा घटेको थियो ।
दुर्घटनाको कारण खुली सकेको छैन । त्यसबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।