२०८३ असार १३ गते शनिवार

श्रीमति हत्या आरोपी लेखा अधिकृत गोपालसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश


तुलसीपुर, असार १३ ।
उच्च अदालत तुलसीपुरले श्रीमति हत्या आरोपी उनका लेखाअधिकृत श्रीमानसहित चार जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले असार ११ गते त्यस्तो आदेश दिएको हो ।
तुलसीपुर – १९ की २६ बर्षीया कमला खड्का वलीको हत्या घटनामा उनका श्रीमान गोपालसहित वुवा कर्णबहादुर वली, गोपालकी भाउजु टीका केसी वली र गोपालकी बहिनी पुतला वलीलाई उच्चले पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी कृष्णप्रशाद शर्माले जानकारी दिए ।

यस अघि जिल्ला अदालतले गत बैशाख १० गते कमलाको हत्या आरोपी २८ बर्षीय गोपाल वलीलाई मात्रै थुनामा पठाउन आदेश दिएको थियो । अन्य तीन जनालाई जिल्ला अदालतले धरौटीमा छोडेको थियो ।
त्यसमा चित्त नबुझाइ हत्या गरिएकी कमलाका माइती पक्षका आफन्त उच्च अदालतमा पुनराबेदन लिएर गएका थिए । त्यसमाथि सुनुवाई गर्दै उच्च अदालतले जिल्ला अदालतको आदेश रितपूर्वक नरहेको ठहर गर्दै चारै जनालाई मुद्दाको अन्तिम फैसला नहुँदासम्मका लागि थुनामा पठाउन आदेश दिएको हो । कमला माथि आक्रमण भइ रहँदा उनका बुवा, भाउजु र बहिनी सोही घरमा थिए । तर, उनीहरु कमलालाई जोगाउन तथा आक्रमण बाट रोक्नका लागि प्रयास नगरेको आरोप लागेको छ ।
हत्या गरिएकी कमला र गोपालका तर्फबाट एक नाबकल छोरा र छोरी छन् । गत चैत १२ गते कमलाको घर भित्रै चिपर्ट तथा रड प्रहार गरि गोपालले बिभत्स हत्या गरेका प्रहरीले जनाएको थियो । श्रीमति कमलाको हत्या गरेको आरोपमा हाल पूर्पक्षका लागि थुनामा पठाइएका गोपाल डिभिजन वन कार्यालय वीरगंजमा लेखा अधिकृत पदमा कार्यरत थिए ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *