तुलसीपुर,भदौ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङको तीजको शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
राप्रपा तुलसीपुर नगर कमिटि, राप्रपा क्षेत्र नं. २ प्रदेश (ख), राप्रपा क्षेत्र नं. ३ प्रदेश (क) र राप्रपा क्षेत्र नं. ३ प्रदेश (ख) को आयोजनामा भएको कार्यक्रम तुलसीपुर नगर कमिटिका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको थियो ।
राप्रपा दाङ क्षेत्र नं. ३ (ख)का सभापति चुर्णबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य सरिता देवकोटाले तीजको महत्वबारे जानकारी दिँदै हिन्दुराष्ट्रमा संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।
उनले धर्म र संस्कृतिलाई बचाउनुको साटो होटल र बारमा डिजेमा नाचेर तीज मनाउनेहरुकै कारण समाजमा विकृति फैलिएको बताए ।
तीजलाई विकृतिको रुपमा नभई संस्कृतिको रुपमा मनाउन उनले आग्रह गरे ।
राप्रपा जिल्ला महिला संघ दाङकी अध्यक्ष जानुका पोख्रेलले देखावटी भन्दा आफ्नो घरको आवश्यकताअनुसार तीज मनाउन आग्रह गरे ।
उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्लाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राप्रपा प्रदेश क्षेत्र नं. ३ (ख)का सभापति श्रीमणी न्यौपानेले गरेका थिए ।