बर्दिया ,कात्तिक २६ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । बिरामी अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेखलगायत उपचारको लागि उद्धार गरिएको हो ।
घिस्रिदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
१३/१४ वर्ष उमेर पुगेको पोथी पाटेबाघ सन् २०१३ को बाघ गणनाका क्रममा अटोमेटिक क्यामेरामा परेवा ओडारमा तस्बिर कैद भएको थियो ।
गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटेबाघलाई उचित राख्ने ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ ।
निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् ।
बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।