रुकुम(पूर्व),असार २३ । रुकुमपूर्वमा प्रहरीले अवैध १० थान वेवारिसे भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।
विभिन्न मितिमा जिल्लाको विभिन्न ठाउँबाट वेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।
जेठ र असार महिनाको बिचमा विभिन्न ठाउँबाट ३ सावुत र ७ वेसावुत गरी १० थान भरुवा बन्दुक नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रवक्ता कृृष्ण खत्रीले जानकारी दिए ।
प्रवक्ता खत्रीकाअनुसार गएको जेठ २८ गते सिस्ने गाउँपालिका ६ खोपीचारबाट २ थान, जेठ ३१ गते सिस्ने ६ बाटै २ थान भरुवा बन्दुक नियन्त्रणमा ल्याइएको छ । त्यस्तै असार ६ गते सिस्ने–६ खोपिचारबाटै ३ थान र ११ गते सिस्ने गाउँपालिका –५ बाट ३ थान भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले विभिन्न सुचनाको आधारमा उक्त एक नाले र दुई नाले भरुवा बन्दुक नियन्त्रणमा लिएको थियो । सबै बन्दुक वेवारिसे अवस्थामा फेला परेकाले मान्छे भने पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले बताएको छ ।