काठमाण्डौ,बैशाख २ । सरकारले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसआईडी) ले दिने ६ सय ५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गरेको छ ।
गएको चैत ३० गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका हुन ।
मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने एक सय ५० मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।
त्यसैगरी मन्त्रिपरिषद्ले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको झन्डै दुई सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताए ।
त्यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकको निर्णय रहेको छ ।