२०८२ साउन १ गते बिहिवार

काठ तस्करको हात बाँधेपछि वनपाले आँफै लडे र तत्काल मृत्यु भयो

तुलसीपुर, माघ ३० । दाङमा एक वनपाले (वन रक्षक) ले काठतस्करलाई पक्राउ गरि हात बाँधेपछि एकाएक आफैं लडेर तत्काल मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका २८ बर्षीय बुद्धिराम चौधरी र सोही वडाको कोलहुवा निवासी वनपाले ५० बर्षीय बुद्धिराम बिकसंग बिहीबार राति आपसमा धकेला धकेल भएको थियो । उनीहरुको बीचमा झगडाको मुख्य कारण भने काठ तस्किरी थियो ।

बिहीवार राति साढे दश बजेतिर शंकर सामुदायिक वनबाट चौधरीले १२ फिट सिसौको काठ ल्याएर घर तर्फ आउँदै गर्दा वनपाले बिकले देखे । उनले चौधरीलाई पक्रिएपछि उनीहरुका बीचमा धकेला धकेल भएको थियो ।

घटनाका प्रत्यक्षदर्सी कोलहुवा निवासी ४९ बर्षीय अर्का वनपाले पूर्णबहादुर जिसी थिए । जतिबेला चौधरीले बिक कठालो समातेका थिए । चौधरी र बिक बीचमा धकेला धकेल चलिरहँदा जिसीले नै उनीहरुलाई छुट्याएका थिए ।

जिसीले उनीहरुलाई छुट्याइदिएपछि बिकले चौधरीको दुबै हात पछाडि पारी डोरीले बाँधिदिए । चौधरीलाई हात बाँधेर भूईमा बसालेर बिकले वनका केही पदाधिकारीलाई फोन सम्पर्क गरे । चौधरीको हात बाँधेको करिब ४÷ ५ मिनेट पुग्दै थियो । त्यही बीचमा बिक एकाएक आँफै भूईमा लडे । त्यसपछि उनी उठ्दै उठेनन् । उनको तत्काल मृत्यु भयो ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टका अनुसार राति पौने १ बजेतिर जिसीले सिसहनिया प्रहरी चौकीमा फोन सम्पर्क गरि घटनाबारे जानकारी दिएका थिए । त्यसको केही बेरमै घटनास्थल पुगेको प्रहरी शबलाई रातभर त्यही कुरेको प्रहरी निरीक्षक भट्टले बताए । प्रहरीले झगडामा संलग्न चौधरीलाई राति नै नियन्त्रणमा लियो ।

‘प्रहरी पुग्दा बिक घोप्टो अवस्थामा भूईमा लडिरहेका थिए,’ प्रहरी निरिक्षक भट्टले भने ‘मृतकको नाकबाट हल्का रगत बगेको थियो भने निधार भूईमा ठोक्किएर सामान्ने चोट थियो।’ त्यो बाहेक शरिका अन्य कुनैपनि भागमा कुनै प्रकारको चोट पटक नरहेको भट्टले जानकारी दिए ।

‘ मृतकको शरिरमा कुनै प्रकारको हातहतियार वा चोट पटक लागेको देखिदैन,’ भट्टले भने ‘ घटनाका प्रत्यक्षदर्सी र पक्राउ परेका व्यक्तिले समेत धकेला धकेल मात्रै भएको बयान गरेका छन् ।’
भट्टका अनुसार घटनाका प्रत्यक्षदर्सीको बयान अनुसार बिकको मृत्यु एकाएक र अनौंठो किसिमले भएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको हुँदा पोष्टमार्टम रिपोर्ट पछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *