
दाङ, असार १८ ।
कञ्चनपुरका पत्रकार खेम भण्डारी जिल्ला कारागार कार्यालयमा थुनामा पठाइएका छन् ।
पक्राउ पछि जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतको आदेशले बिहीबार बेलुकी पख कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।
पत्रकार भण्डारीलाई प्रहरीले बिहीबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको थियो ।
अदालतको फैसला कार्यान्वयन लागि पत्रकार भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
पुरानो गाली बेइजती मुद्दामा जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२/०२/०१ गते १ महिना कैद सजाए र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यस्तै उच्च अदालत दिपायलको महेन्द्रनगर धनगडी इजलासले २०८२/१२/२२ गते जिल्ला अदालतको फैसला केही उल्टी गर्दै थप ७ दिन कैद र २ हजार १०० जरिवाना थप गरिदिएको थियो । जस अनुसार पत्रकार भण्डारीलाई कुल १ महिना ७ दिन कैद सजाए र १२ हजार १०० जरिवाना तिर्नुपर्ने छ ।
सोही सजाय असुल उपर गर्नका लागि उनी कारागार चलान गरिएका हुन ।
पत्रकार किरण बिष्टले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा आफूलाई जोडेर भ्रामक समाचार लेखेको भन्दै पत्रकार भण्डारी बिरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दा हाल्ने किरण कञ्चनपुरका तत्कालिन एसपी तथा एसएसपीबाट रिटायर्ड दिल्लीराज बिष्टका छोरा हुन । सोही मुद्दामा अदालतले पत्रकार भण्डारीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो ।
कञ्चनपुरकी १३ बर्षीया बालिका पन्तको बलात्कार पछि हत्या गरेको अवस्थामा भीमदत्त नगरपालिकाको निम्बुखेडा खोला किनारको उखुबारीमा २०७५/०४/१० गते शब फेला परेको थियो । पन्तका हत्यारा अझैसम्म पत्ता लागि सकेका छैनन् ।