२०८२ कार्तिक २२ गते शनिवार

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

काठमाडौं ,असोज १२ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ ।

एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न एवम् कम्प्याक्टका लाभहरू नेपालीहरूसम्म पुर्याउन एमसीसी दृढ साझेदारका रूपमा रहने प्रतिबद्धतामाथि जोड दिने दूतावासको भनाइ छ ।

एलिसले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ ।

भेटमा उनले एमसीसी कार्यान्वयनमा भएको ढिलाइका कारण अल्झिएका आयोजना र तिनका समस्याबारे छलफल गर्ने जनाइएको छ । त्यस बाहेक उनले अन्य राजनीतिक दलका केही शीर्ष नेताहरूसँग पनि भेट्ने योजना छ ।

एमसीसीमा हस्ताक्षर भएको ६ वर्ष र नेपालको संसदले अनुमोदन गरेको दुई वर्षपछि कार्यान्वयमा गएर सम्पन्न गर्ने पाँच वर्षे अवधि १३ भदौबाट सुरु भएको छ । तर ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्याको समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।

हाल प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्कामा बोलपत्रदाताले अनुमानित भन्दा बढी लागत लाग्ने बताएपछि कार्यान्वयनको पाटोमा समस्या देखिएको छ । एमसीसीको लगानीमा निर्माण हुने भनिएको ३१५ किलोमिटर प्रसारण लाइन आयोजनाको ठेकेदार छनोटमा नै समस्या देखिएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *