काठमाडौँ,साउन २ । अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित छानविन समितिले आज सोमबार अर्थ मन्त्रालयको ‘हार्ड डिस्क’ अध्ययन गर्ने भएको छ।
जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो।
‘जेठ महिनाको सिसिटिभी फुटेजको हार्ड डिस्क मगाएका छौँ। त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौँ’, समिति सदस्य लक्ष्मणलाल कर्णले भने। उनका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो।
जेठ महिनाको सिसिटीभी फुटेज माग्दा असारको दिएपछि सो प्रकरण थप रहस्य बन्दै गएको छ। समितिले जेठ महिनाको सिसिटिभी फुटेजका लागि पुनस् ताकेता गरिरहे पनि अर्थ मन्त्रालय भने अझै दिएको छैन।
उता, समितिका सचिव सुरेन्द्र अर्यालले प्रावधिक अध्ययन सकिएपछि सो प्रकरणमा राजिनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बयान लिने तयारी समितिले गरेको छ।
‘प्रावधिक अध्ययन सकिएपछि उहाँ (जनार्दन शर्मा)सँग बयान लिने बारेमा समितिमा छलफल भएको छ’, अर्यालले भने।