२०८१ चैत्र १३ गते बुधवार

६ महानगर प्रमुखमा एमाले शून्य

काठमाडौं, जेठ १३ । स्थानीय तह निर्वाचन अन्तर्गत ६ महानगरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सबै महानगर गुमाएको छ ।

देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिका गुमाउँदै शून्य भएको हो । ६ महानगरमध्ये विराटनगर र ललितपुर महानगर गठबन्धनबाट नेपाली कांग्रेसले जित्यो भने भरतपुर महानगरमा गठबन्धनबाट माओवादी केन्द्रले जित्यो ।

यस्तै पोखरा महानगर सत्ता गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, वीरगन्जमा गठबन्धनबाटै जसपाका उम्मेदवार राजेशमान सिंह विजयी हुँदा काठमाडौं महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन ले विजयी भए ।

भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ समेत रहेकी प्रचण्ड पुत्री रेणु दाहाल विजयी भइन्।

विराटनगरमा कांग्रेसका नागेश कोइराला र ललितपुरमा कांग्रेसकै चिरीबाबु महर्जन विजयी भए । यसअघि एमालेको जितेको काठमाडौंमा अहिले भने तेश्रो बन्यो भने गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंह दोश्रो बनिन् ।

२०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका थिए भने माओवादी र जसपाले समान १–१ मा जित हासिल गरेका थिए। ६ महानगरमध्ये विराटनगर र ललितपुर महानगर नेपाली कांग्रेसले यसपटक पनि आफ्नो पोल्टामा पार्यो ।

यसअघि एमालेले जितेको पोखरामा यसपालि नेकपा एकीकृत समाजवादीले खोस्यो । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका आचार्य निर्वाचित भए ।

मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ। एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ ।

यसअघि नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले जितेको काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन्।यस्तै एमालेबाट ललितपुर उपप्रमुखमा मञ्जली शाक्य, पोखरा महानगरको उपमेयरमा मञ्जुदेवी गुरूङ, विराटनगर महानगरपालिकाको उपमेयरमा पनि शिल्पा कार्की विजयी भईन् ।

दुइ महानगर भरतपुर महानगरपालिका र वीरगन्ज महानगरपालिकामा भने कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भए। भरतपुरका कांग्रेसका चित्रशेन अधिकारी र वीरगन्ज महानगरपालिकामा कांग्रेसकै इम्तियाज आलम विजयी भए।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *