जनकपुर,बैशाख १९ । नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधामको मेयरमा उम्मेदवारी दिएका मनोज साह धर्नामा बसेका छन्।
निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशन गरेको नमूना मतपत्रमा उनले पाएको चुनाव चिन्ह घण्टाघर नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका हुन्।
साहले २४ घण्टा भित्र नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न दिएको समयमा पनि समावेश नगरिएकाले धर्नामा बस्नु परेको बताए।
उनले राजनीतिक षडयन्त्रपूर्वक आफ्नो चुनाव चिन्ह समावेश नगरिएको आरोप लगाए।
नमूना मतपत्रमा उनले पाएको चुनाव चिन्ह नहुनु सामान्य त्रुटि नरहेको भन्दै उनले भने, ‘यो मेरो उम्मेदवारीलाई ओझेलमा पार्ने षड्यन्त्र पनि हुन सक्छ। नमूना मतपत्रमा चुनाव चिन्ह नहुँदा प्रचार प्रसार गर्नमा पनि समस्या छ ।’
साहले नमूना मतपत्रमा चुनाव चिन्ह नहुँदा मतदातालाई चुनाव चिन्ह बुझाउनमा पनि समस्या रहेको बताए।
जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि २७ जना स्वतन्त्र उम्मेदवार सहित ३९ जनाले उम्मेदवारी दिएका छन्।
यता मुख्य अधिकृत ब्रजेश प्याकुरेलले यो समस्या समाधानका लागि आफूले आयोगको सचिव, आयुक्त तथा सम्बन्तिध अधिकारीहरुलाई जानकारी गराई सकेको बताए।
मतपत्र सच्याउने काम चाँडै हुने उनले बताए। प्याकुरेलले भने ‘यो त्रुटी मनोजजीको हकमा मात्रै छैनन्, जनकपुरधाममा २७ जना प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारहरु छन् १२ जना बाहेक सबैमा यो समस्या छ ।’