२०८१ भाद्र २३ गते आइतवार

गुरु/ शुक्र अस्तः मानव जीवनमा कस्तो प्रभाव ?

‘शुक्र र बृहस्पति अस्त भएको बेला महत्वपूर्ण कर्म नगर्नु’


दाङ, माघ २ । आगामी माघ ४ गते गुरु पश्चिममा अस्त हुँदैछ । गुरु फागुन २ पूर्वमा उदय हुनुअघि नै माघ ३० गते पश्चिममा शुक्र अस्त हुने पञ्चाङ्गहरूमा उल्लेख छ ।महत्त्वपूर्ण मानिएका माघ फागुनजस्ता महिनामा गुरु–शुक्र अस्त भएपछि विवाह–व्रतबन्धदेखि गृहप्रवेशलगायत शुभकार्य प्रभावित हुने भएका छन् । चलनचल्तीको ज्योतिषशास्त्रअनुसार यो वेला नित्यकर्म बाहेक मांगलिक कार्य गर्न नहुने मान्यता छ ।

हाम्रो सनातन धर्ममा प्रत्येक कार्यको लागि एउटा राम्रो अभीष्ट समय निर्धारित शास्त्रद्वारा गरिएको छ । कुनै समय यस्तो पनि छ जुन समयमा शुभ कार्यको लागि मुहूर्तहरु निषेध गरेको छ । शुभ एवम् मांगलिक कार्यहरुका लागि शास्त्रनै प्रमाण हुने हुँदा शास्त्रीय आधारमा कार्य गर्न अनुरोध गरिन्छ ।

कसैले पनि शास्त्रीय मर्यादालाई उल्लंघन गरेर अशास्त्रीयकर्महरु गर्छ भने त्यसलाई एकदिन त्यहीँ कार्य र परिस्थितिले एक्लो र बेइमान गरिदिने छ । शास्त्रवचन , ऋषिवचन , वेदवचन , भगवानकोवचन कहिले पनि झुठो र असत्य हुँदैन , त्यसकारण शास्त्रीय मान्यता अनुसार कार्य गर्नु पर्छ । ( तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्य व्यवस्थितौ )

हिन्दु धर्म अनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । ज्योतिषशास्त्रका अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ । साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ ।

गुरु – शुक्र अस्तपूर्व तीनदिन अघिदेखि तेजोहीन हुने भएकोले वृद्धत्व र उदयपछि पनि तीनदिन अल्प तेज हुनाले शिशुत्वदोष लाग्छ । यस्तो समयमा धार्मिक कार्य गर्न हुँदैन भनेर शास्त्रले निषेध गरेको छ ।

धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् । नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।

काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् । प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।

गर्नहुने कर्महरु
स्नान, सन्ध्या , पाञ्चायनपूजा , नित्यगरिराखेका कर्महरु , दुर्गापूजा , चौमासाकोव्रतपूजा, तुलसीपूजा र तुलसीविवाह , तुलसीको मठमा हवन , शान्ति – स्वस्ति , रामनवमी, नवरात्रि ,यमपञ्चक , जन्माष्टमी , शिवरात्रि आदि जन्मतिथिहरु, नित्य कर्महरु र श्राद्ध , तर्पण , आशौच , मृतकको क्रियाकर्म , ग्रहणकालमा स्नानादि , नैमित्तिक कर्महरु गर्नहुन्छ ।

गर्न नहुने कर्महरु
इनार, बगैंचा, तलाउ, कुवा आदि निर्माण गर्नु, गृहारम्भ, र गृहप्रवेश, वास्तुपूजा, चान्द्रायणादि व्रतको आरम्भ, व्रतको आरम्भ, व्रतक‍ो सुरु र समापन, उद्यापन सांगे,तुलादानादि, महादानहरु, सोमयाग, अष्टकाश्राद्ध, गोदान, चूडाकर्म केशान्त कर्म, नवान्नभक्षण पास्नी अन्नप्राशन, जलशाला निर्माण, पहिलोपटक श्रावणीकर्म उपाकर्म, उपनिषद्व्रत, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, ( विहित कालमा हुन नसकेको बच्चाको जातकर्म, नामाकरण, अन्नप्राशन आदि संस्कार ) देवताको प्रतिष्ठा।

यस्तै दीक्षाग्रहण दीक्षा दिन लिन, मन्त्र सुन्न, विद्यारम्भ संस्कार, विवाह, व्रतबन्ध, यज्ञोपवित, कहिल्यै नगएको देवताको र देवस्थानको एवम् कहिले नगएको तीर्थको दर्शन, संन्यास ग्रहण, अग्निहोत्रलिनु अग्न्याधान, राजाको पहिलोचोटि दर्शन, राज्याभिषेक, पहिलोपटक कुनै देशको यात्रा, चतुर्मासव्रत चातुर्मास्ययाग, समावर्तन, कर्णवेध, दिव्यपरीक्षा गर्नु, रुद्राभिषेक, लक्ष्यहवन, कोटिहवन, त्यस्तै एकाह, सप्ताह, नवाहआदि पुराण लगाउनु, मन्दिर निर्माणको आरम्भ, देवता स्थापन, प्राणप्रतिष्ठा आदि काम्यकर्महरु गुरु- शुक्रको अस्त र बाल्यवृद्धत्वमा गर्न हुँदैन ।

वृहस्पति र शुक्र अस्त भएको समयमा वेद धर्म शास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरे गराएको कर्मले कामना गरे बमोजिमको फल दिँदैन । पुरोहित र यजमान दुबैलाई फल प्राप्त नहुने निश्चित छ । यस्तो समयमा पूजापाठ तथा अन्य धार्मिक कार्य गरेर (नित्य नैमित्तिक बाहेक) दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्र अनुसार पतित हुने शास्त्रमा उल्लेख गरिएको छ ।

गुरु/ शुक्र अस्तको प्रभाव के ?
सामान्यतया बृहस्पति अस्त भएको अबस्थामा लुटपाट, सवारी दुर्घटना, शैक्षिक क्षेत्रमा बाधा, उच्च पदस्थ व्यक्तिहरुको मन मुटाब र विशिष्ट व्यक्तिको मान सम्मानमा आघात पर्ने, पहेँलो धातुको मुल्यविद्धि, बैंक हरुको सिस्टम ह्याक तथा लुटपाट जस्ता घटना घट्न सक्छन ।

त्यसैगरी शुक्र अस्त भएको अवस्थामा वायुमा पनि विकार हुन सक्छ । किनकि शुक्रले वायुको पनि प्रतिनिधित्व गरेको हुन्छ अर्थात् भनौ यो वायुकारक ग्रह हो । कला साहित्यको क्षेत्रमा बाधा, स्क्यानडल साथै प्रेम तत्त्वको कमी पनि शुक्र अस्तमा हुने गर्दछ ।

व्यक्तिमा भने गुरु तथा शुक्र अस्तको प्रभाव जन्मकुण्डलीमा गुरु र शुक्रको अवस्था अनुसार भिन्न भिन्न हुने गर्दछ । गुरु वा शुक्र दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नु पर्ने हो सो प्राप्त नहुन सक्ने स्थिति पनि रहन्छ ।

युवा ज्योतिषी
मुस्कान खनाल,
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
सम्पर्क नम्बर : ९८५११९३९६४

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *