२०८३ असार १३ गते शनिवार

सुधारोन्मुख घोराहीका मासु पसल


घोराही, २४ असार ।
घोराहीका मासु पसलहरु सुधारोन्मुख देखिएका छन् । घोराही उपमहानगरपालिका पशु सेवा शाखाले मंगलबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा सुधारोन्मुख हुँदै गएको देखिएको हो । नगरका कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा विगतको अवस्थामा अहिले सुधार देखिएको पाईएको हो ।

यस अघिका अनुगमनका क्रममा पटक–पटक सुुधार्न निर्देशन दिदै आएपछि व्यवसायीहरुले मासु पसल सञ्चालन मापदण्ड अनुसार नै सुधार थालेको पाईएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । यसअघि पसल बाहिरै छरपष्टरुपमा मासुहरु झुण्ड्याउने, फलामको रडहरु प्रयोग गर्ने, फ्रिज प्रयोग नगर्ने, सफाई नगर्ने, दर्ता नगर्ने प्रवृत्ति हट्दै गएको र सुधारोन्मुख अवस्थामा पसलहरु रहेको पाईएको छ ।

अनुगमन टोली सबै पसलहरुलाई अनिवार्यरुपमा दर्ता गर्न, खुल्ला मासु नराख्न, झुण्ड्याउँदा फलामको रड प्रयोग नगर्न, सीसा वा जालीको प्रयोग गरेर मासु बेच्न, सरसफाई अनिवार्य गर्न, मूल्य सूचि अनिवार्य राख्न र डि फ्रिजको प्रयोग गरि मासु राख्ने कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

अनुगमन टोलीले रांगाका १०, खसीका ८, बंगुरका २ र डेरी पसल २ गरी २२ वटा पसलको अनुगमन गरेको छ । मानव स्वास्थ्यसँग प्रत्यो जोडिने मासु व्यवसायलाई स्वच्छ र व्यवस्थित ढंगले बिक्री वितरण गर्नुपर्छ भन्ने सन्देश दिन अनुगमनलाई निरन्तरता दिदै आएको उपमहानगरले जनाएको छ ।

अनुगमनका कार्यबाहक नगर प्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, पशु सेवा शाखा प्रमुख जीवराज पौडेल, पशु सेवा शाखाका प्राविधिक खिमबहादुर बस्नेत, भेटेनरीका शशिधर शर्मा, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख विष्णु गिरी, प्रहरी सहायक निरिक्षक सन्तोष रावल रहेका थिए ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *