दाङ, मंसिर ६ । यही मंसिर १६ गतेका लागि तोकिएको उपनिर्वाचन अन्तरगत लुम्बिनी प्रदेशका पाँच जिल्लाका ६ पदहरु मध्य बुधबार एक जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
अब एक ठाउँमा गाउँपालिकाको एक उपाध्यक्षसहित थप चार वडाध्यक्ष पदका लागि प्रतिष्पर्धा हुने छ । एक उपाध्यक्षका लागि अब दुई जनाका बीचमा मात्रै प्रतिष्पर्धा हुने निश्चित भएको छ । त्यस्तै चार वडाध्यक्षका लागि ३४ जनाको बीचमा प्रतिष्पर्धा हुने छ ।
रुकुम पूर्वमा उपाध्यक्ष पदमा उम्मेदवार बनेकी एमाले नेतृ नेपाली काँग्रेसको रुख चुनाब चिन्हबाट उम्मेदवारी दर्ता गरेकी छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरका अनुसार रुकुम पूर्वमा बाहेक अनेत्र कुनैपनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको बताए । अहिले हुन लागेका निर्वाचन मध्य बहुमत अघिल्लो निर्वाचनमा अधिकांश वडाध्यक्ष पद नेपाली कांग्रेसले जितेको थियो।
पुथा उत्तरगंगा उपाध्यक्षमा दुई जना मात्रै भिड्ने
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सात मध्य बुधबार पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
चार स्वतन्त्रसहित नेकपा (एकीकृत समाजबादी) का उम्मेदवारले दिउँसो तीन बजे अघि नै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यसअघि उम्मेदवारी दिएका मध्य पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि अब नेपाली कांग्रेसको रुख चिन्हवाट उम्मेदवार बनेकी नेकपा (एमाले)की केशकुमारी तुलाचन र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार नरपुरा बुढाको बीचमा मात्रै प्रतिष्पर्धा हुने भएको छ । कांग्रेसको रूख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन ।
रुकुम पूर्वमा एमाले नेतृ काँग्रेसको चुनाब चिन्हबाट निर्वाचन लड्ने सहमति भएको थियो । सोही अनुरुप उनी उम्मेदवार बनेको काँग्रेसका स्थानीय नेताहरुले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अपरेटर गेहेन्द्र कँवरका अनुसार मंसिर २ गते गाउँपालिका उपाध्यक्ष पदका लागि नेकपा (एकीकृत समाजबादी) बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) को उम्मेदवारी दिएको भएपनि सबैले बुधबार उम्मेदवारी फिर्ता लिएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित हुनु भएको थियो । उनको गत भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो।
वडाध्यक्षमा निर्विरोध
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका – २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले बुधबार आ–आफ्नो उम्मेदवारी फिर्ता लिदै घर्तीलाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।
मंसिर २ गते वडाध्यक्ष पदका लागि यहाँ तीन जनाको मात्रै उम्मेदवारी परेको थियो। दुई जनाले फिर्ता लिएसँगै माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।
जगत घर्तीको मात्र उम्मदवारी कायम रहेपछि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन कार्यालयले गरेको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा माओबादी कै जसबहादुर श्रीपाइली निर्वाचित भएका थिए । उनको गाउँपालिका उपाध्यक्षसँगै सवारी दुर्घटनामा मृत्यु भएको थियो।
रोल्पा
रोल्पाको रून्टीगढी गाउँपालिका– ४ मा ६ दलका ६ जनाका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसका भूपमणि पुन मगर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सबादी लेनिनबादी) काबेगम पुन मगर, नेकपा (माओवादी केन्द्र)का नरेशजंग सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुन र मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर बुढा मगरका बीचमा मंसिर १६ गते प्रतिष्पर्धा हुने भएको छ ।
यो वडामा २०७९ को निर्वाचनमा कांग्रेसका टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको उपचार क्रममा काठमाडौंमा मृत्यु भएको थियो।
बर्दिया
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि ६ दलका ६ जनाका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेसका अमिन थारू, माओवादी केन्द्रका शेरबहादुर थारू, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारू, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्मा र नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) का विष्णुप्रसाद देवकोटाका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
यो वडामा यसअघि कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए। उनी जिल्ला पार्टी सभापति भएपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए। अमिन थारूले अघिल्लो महिना कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर फेरि वडाध्यक्ष पदका लागि मैदानमा उत्रिएका हुन ।
गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका – १ को वडाध्यक्ष पदका लागि तीन स्वतन्त्रसहित आठ जनाका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेसका आनन्द श्रेष्ठ, एमालेका दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खाती क्षेत्री र स्वतन्त्र रूपमा कुलबहादुर थापा, योगेन्द्र खरेल र पोमानन्द खरेलका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
यसअघि यहाँ नेपाली कांग्रेसका मोहन घिमिरे निर्वाचित भएका थिए। उनले आत्महत्या गरेपछि रिक्त स्थानमा पुनः निर्वाचन हुन लागेको हो।
कपिलबस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिका – १ को वडाध्यक्ष पदमा १४ जनाको प्रतिष्पर्धा हुने भएको छ ।
कांग्रेसका दिनेशकुमार यादव, माओवादी केन्द्रका रफि मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज मोहमद धोबी, जनता समाजवाी पार्टी नेपालका रामबहादुर कुर्मी चौधरी, जनमत पार्टीका सीताराम पटेल कुर्मी, नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमारी चौधरी थारू, जनता समाजवादी पार्टीका रमेशकुमार पाण्डे, नेकपा (एकीकृत समाजवादी) का सुब्बा थारू र नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) का मोहम्मद ताहिर मुसलमान, स्वतन्त्र उम्मेदवारहरु अब्दुल मुयिद, अब्दुल अब्बल फकिर, पुजारी थारू, सर्वजित मल्लाहका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
यसअघि यहाँ कांग्रेसका तिलकराम यादव निर्वाचित भएका थिए। उनको ब्रेनट्युमरका कारण मृत्यु भएको थियो।