शंकर केसी,
सल्यान, असार ३ । सल्यानमा अज्ञात समूहले एक वडा कार्यालयमा आगजनी गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको ३ नम्बर वडा कार्यालयमा अज्ञात समुहले मध्यरातमा आगजनी गरेको छ । आगजनी वाट कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ ।
दुई वटा कोठामा रहेको वडा कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात संगै ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेट जस्ता सामान जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए । कार्यालयको प्रशासन कक्ष र प्राविधिक कक्ष दुबैमा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछी स्थानीय सर्वसाधारण राति नै आगो निभाउन खटिएका थिए ।
आगलागी स्थलमा अहिले ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको खड्काले जानकारी दिए ।