पोखरा, कात्तिक ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत शुक्रबार काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालय चस्मतिबाट रबि पक्राउ परेका थिए । सोही दिन राति उनलाई पोखरा लगिएको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार रबिलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
रास्वपा सभापति रबि पक्राउ परेपछि रिहाइको माग गर्दै रास्वपाले पोखरमा आन्दोलन गर्दै आएको छ । बिहीबार पनि थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति अदालतले दिएपछि त्यसको बिरोधमा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न प्रयास गरेका थिए ।
सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले रबि लगायतलाई कारबाहीको सिफारिस गरेको थियो।
