भालुवाङ , भदौ ३० । दाङको राप्ती गाउँपालिका – १ भालुवाङ पुलचोकस्थित राप्ती महिला श्रमिक सहकारी संस्था लिमिटेडमा स्थानीय मगर समुदायका महिलाहरु तानवाट ढाकाको कपडा बुन्दै आएका छन् ।
बिगत तीन महिनादेखि स्थानीय १८ जना महिलाहरु एकै ठाउँमा जम्मा भइ दिनहुँ रुपमा ढाकाका कपडाहरु बुन्दै आएका छन् ।
२० बर्षीया रश्मी पुन मगर बिहान कलेज पढ्न जाने ऊनी फुर्सदको समयमा दिउँसो दिदी बिहनीसंगै ढाकाको कपडा बुन्न तानमा काम गर्दा रमाइलो अनुभूति हुने गरेको बताउँछिन ।
लमहीस्थित स्वर्णिम देउखुरी क्याम्पसमा ब्याचलर दृतिय बर्षमा अध्यनरत रश्मीले कलेजवाट आएपछि दिउँसो ऊनीको सल निर्माणमा ब्यस्त हुन्छिन् । आफ्नो पुर्खेउली पेशा तानबाट कपडा बुन्ने सीप सिक्न उनले जेठ पछि महिना दिन बढी तालिम लिएकी थिइन । जुन तालिम राप्ती गाउँपािलकाले दिएको थियो ।
बिगत ११ बर्षदेखि संगठित हुँदै आएका ६० जना मगर महिलाहरुले मासिक एक सय रुपैंया बचत गर्दै आएका थिए । उनीहरुले मिलेर गाउँपालिका संग तानवाट कपडा बुन्ने तालिम माग गरेका थिए । तालिम सिके पछि यहाँका मगर महिलाका लागि गाउँपालिकाले दश लाख खर्चेर दश वटा तान बुन्ने हाते मेसिन र एउटा वार्पिङ मेसिन किनेर दिएको थियो ।
बिगतदेखि नै संगठित हुँदै आएका उनीहरुले त्यही पैंशावाट आफ्नो लागि धागो खरिद गर्दै आएका छन् । उनीहरुले बुटवलबाट आवश्यक धागोहरु खरिद गर्ने गरेका छन् ।
गत जेठमा तानबाट ढाका कपडा बुन्ने सम्बन्धि तालिम यहाँका महिलाहरुले माग गरेका थिए । तालिम पछि राप्ती गाउँपालिकाले यहाँका महिलाहरुलाई स्वावलम्बि बनाउन झन्डै दश लाख बढीमा दश वटा तान र एउटा वार्पिङ मेसिन उपलब्ध गराएको थियो ।
मेसिन उपलब्ध गराएपछि महिला दिदी बहिनी मिलेर कपडा बुन्न आवश्यक ऊनीको धागो बुटवल बाट खरिद गरि ल्याउने गर्छन ।
बिगत ११ बर्षदेखि रोल्पा, रुकुम, प्यूठान लगाएत बाट भालुवाङमा आइ बसोबास गर्न थालेका मगर महिलाहरुको समुह बनाइ संगठित बन्न थालेका थिए । जस्को नेतृत्व ३८ बर्षीया बिसपुरा घर्ती मगरले थिइन ।
उनीहरु आपसमा महिनाको एक सय रुपैंया बचत गर्थे । त्यही रकमले उनीहरुले आँफुलाई आवश्यक पर्ने ऊनीको धागो खरिद गर्दै कपडा बुन्न थालेको तीन महिना पुगि सकेको छ । ३७ बर्षीया हितपुरा पुन मगरले त्यसै बसेर समय खेर फाल्नु भन्दा कुनैपनि सीप सिक्न वा इलममा लाग्न आग्रह गर्छिन ।
‘ घरमा मोवाइल हेर्दै दिन नबिताउन म महिला दिदी बहिनीलाई आग्रह गर्दछु,’ उनले भनिन् ‘ सीप सिक्नु भयो भने आत्मनिर्भर बन्न सहज हुन्छ ।’
सीप सिकेमा क्षमता मात्रै बिकास नहुने बरु त्यसले आर्थिक रुपमा महिलालाई बलियो बनाउने हुँदा घर परिवार र समाजमा पनि इज्जत बढ्ने उनले बताइन ।
यहाँका महिलाहरु आँफुले तयार पारेका कपडाहरु केही बेच्दै छन् भने केही भण्डारण गरि राखेका छन् । ती बेचेमा राम्रो फाइदा हुने उनीहरुको आशा छ । यहाँ उनीहरु साढे दुई सयको ऊनीको कपडाको खादादेखि ११ हजार बढी मूल्य पर्ने साडीसमेत तयार पार्दै आएका छन् ।
तस्बिर : फरककोण ।